बिश्व घटना

लकडाउन खुकुलो बनाए थप संकटको सामना गर्नुपर्ने डब्लुएचओको चेतावनी

लकडाउन खुकुलो बनाए थप संकटको सामना गर्नुपर्ने डब्लुएचओको चेतावनी


न्यूयोर्क । विश्‍व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रेसियसले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धहरु पूर्वासावधानी बेगर खुकुलो बनाइए थप संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । 
 
प्रमुख गेब्रेसियसले जेनेभामा बुधबारको भर्चुअल ब्रिफिङका क्रममा प्रतिबन्धका प्रावधानहरु खुकुलो बनाउनुअघि विभिन्‍न मुलुकहरुले चाल्नुपर्ने गम्भीर कदमहर चाल्‍नुपर्ने बताएका छन् ।
 
उनले कोरोना नियन्त्रणका लागि निगरानी, नियन्त्रण र स्वास्थ्य प्रणालीको पर्याप्त तयारी हुनुपर्ने बताएका छन् । 
 
लकडाउनबाट बाहिर निस्किने मुलुकहरुको प्रयास जोखिमपूर्ण रहेको भन्दै यसलाई कोरोनाको यस संक्रमणकालको स्थितिलाई व्यवस्थापन गर्न नसकिए थप जोखिमपूर्ण स्थिति सिर्जना हुनसक्ने उनले बताएका छन् । 
 
हालसम्म विश्‍वभर ३७ लाख मानिसहरु कोरोना संक्रमित भएका छन् भने दुई लाख ६० हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको छ ।
 
सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ । 
 
युरोपियन मुलुक इटाली र स्पेनसहित अन्य विभिन्‍न मुलुकमा लकडाउन खुला गरिएको छ । चीनको वुहानमा ७६ दिनपछि अप्रिल ८ मा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुला गरिएको थियो । अलजजिरा