काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा संक्रमण फैलिन नदिन लागू गरेको लकडाउनलाई निरन्तरता दिने भएको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाको जोखिमका आधारमा रेड, एल्लो र ग्रीन जोन निर्धारण गरी सोहीअनुसार लकडाउन कडा वा खुकुलो बनाउन सरकारलाई प्रस्ताव गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको बढ्दो अवस्थामा रहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने हुँदा अहिले नै सो मोडलमा जान नसकिने बताउँदै लकडाउन लम्ब्याउने धारणा बैठकमा राखेका थिए ।
बैठकले लकडाउन लम्ब्यिाए पनि विकास निर्माणका कार्य तथा उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको हो ।
यससँगै राष्ट्रिय गौरवका आयोजना सिँचाइ, जलविद्युत, खानेपानी, विमानस्थल, सडक र पुल, सरकारी भवन निर्माणको काम भने सुचारु हुनेछन् ।
एकै स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला नहुनेगरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा युवराज खतिवडाले बताए ।
प्रतिक्रिया