मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कुल ९९ संक्रमितमध्ये २२ जना घर फर्किए

नेपालमा कुल ९९ संक्रमितमध्ये २२ जना घर फर्किए


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा र्‍यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । गत २४ घन्टामा ९३१ वटा परीक्षण भएका छन् ।
 
तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ । मुलुकमा विभिन्न क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या १९ हजार ७३४ छ भने आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १३६ छ । रेडजोनमा रहनेको सङ्ख्या ३३३ रहेको छ ।
 
कोशी अस्पतालमा उपचारमा रहेका छ जना सङ्क्रमितको परीक्षण नेगेटिभ देखिएकाले उनीहरु अस्पतालबाट बाहिरिएको डा देवकोटाले जानकारी दिए । अस्पतालमा कोभिडको उपचारपछि घर फर्कनेको सङ्ख्या हालसम्म २२ पुगेको छ ।
 
काठमाडौँका अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज भएका पुरुषको पुनः नमुना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ । 
 
त्यस्तै, वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पनि नमुना परीक्षण पोजेटिभ आएकाले नारायणी अस्पतालमा भर्ना गरिएको छ । वीरगञ्जबाट पठाइएको नमुना परीक्षणमा थप १७ जनाको नतिजा पोजेटिभ आएको छ ।
 
पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।