नेपाल

पर्सामा एकै दिन भेटिए १७ बिरामी, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

पर्सामा एकै दिन भेटिए १७ बिरामी, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो


काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार गरिएको परीक्षणका क्रममा १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
 
उनका अनुसार बुधबार कोरोना संक्रमण देखिनेमा पर्साका दुई महिनाका शिशुसमेत रहेका छन् । 
 
अन्य १६ जना पनि पर्साकै हुन् । संक्रमण देखिनेमा सात महिला र १० जना पुरुष रहेकामा छन् । कोरोना भाइरसको संक्रमण दुई महिने शिशुदेखि ६६ वर्षको उमेरसम्मका रहेका छन् । 
 
बुधबार सनसिटी अपार्टमेन्टमा कोरोना पोजेटिभ देखिएर उपचारपछि नेगेटिभ नतिजा आएर घर फर्काइएका एक ५८ वर्षीय पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।
 
मंगलबार पनि वीरगन्‍जका दुई जनामा कोरोना भाइरस संक्रमणको पुनः पुष्टि भएको थियो । बुधबार थपिएका १७ जनासँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमित ९९ पुगेका छन् । जसमध्ये २२ जना निको भई घर फर्किएका छन् । 
 
प्रवक्ता डा देवकोटाका अनुसार गत चौबिसघन्टामा एकदिन २४६ नमुनाको पिसिआर परीक्षण गरिएको थियो । अहिलेसम्म १४ हजार ९६ जनामा पिसिआर तथा ५२ हजार ८७० जनाको आरडिटी परीक्षण गरिएको उनले जानकारी दिए । 
 
देशभर १३६ जना आइसोलेसनमा उपचार गराएकामध्ये काठमाडौँमा सात जना छन् । यस्तै, १९ हजार ७३४ जनाको क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ ।