नेपाल

ताप्लेजुङमा भीषण आगलागी, सात घर जलेर नष्ट

ताप्लेजुङमा भीषण आगलागी, सात घर जलेर नष्ट


ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।
 
राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए ।
 
त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन ।
 
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएन ।
 
आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।
 
यसैबीच, आगलागी पीडितलाई तत्कालका लागि खाने–बस्नेलगायत व्यवस्थापनका साथै राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । बैठकसँगै उनीहरुलाई तत्कालका लागि राहत उपलब्ध गराइने उनले बताए । रासस