मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप तीनसहित ५७ जनामा कोरोना भाइरस पुष्टि

नेपालमा थप तीनसहित ५७ जनामा कोरोना भाइरस पुष्टि


वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार एकैदिन तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय एक पुरुष, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २, छपकैयाका ४६ वर्षीय पुरुष रहेका छन् । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइएको छ । 
 
यसअघि आइतबार पनि वीरगञ्‍जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज. १६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए । उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 
 
बारामा संक्रमित हुने व्यक्ति पनि ६ मार्चमा दिल्लीबाट ११ मार्चमा नेपाल फर्किएका थिए । नेपालमा १६ जना उपचारपश्चात् घर फर्किएका छन् भने हालसम्म ५४ हजार ८२६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 
 
सरकारले कोरोना भाइरस रोकथामका लागि चौंथोपटक थप गरी लकडाउनको अवधि वैशाख २५ सम्म लागू गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल प्रहरीले मुलुकभर थप सक्रियता बढाएको छ ।
 
सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ ।
 
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन मातहतका प्रहरीलाई आवश्यक निर्देशन दिएको बताएका छन् ।