मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसद्वारा कोरोना रोकथामबारे विज्ञहरुसँग छलफल

काँग्रेसद्वारा कोरोना रोकथामबारे विज्ञहरुसँग छलफल


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टीका पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका विज्ञहरुबीच कोरोना भाइरसको रोकथामबारे छलफल भएको छ । 
 
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यबारे समीक्षा र तत्काल गरिनुपर्ने कार्यबारे छलफल भएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 
बैठकको सुरूआतमा सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका बीच देशभरि कार्य गरिरहेका स्वास्थकर्मी र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थ्यकर्मीकै नेतृत्व र सुरक्षाकर्मीको समन्वयमा परास्त गर्नुपर्ने धारणा राखेका थिए । छलफलका क्रममा प्राप्त महत्त्वपूर्ण विचार र सुझावमाथि काँग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै कार्यान्वयनको माग गरेको छ ।
 
लकडाउनले कोरोनासँग जुध्न वातावरण निश्चय नै निर्माण गरेको तर लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार सुस्त देखिएको बैठकको निष्कर्ष रहेको उल्लेख गर्दै बैठकले आवश्यक गति बढाउन सरकारलाई सुझाव दिएको उनले बताए । 
 
परीक्षण समुदायस्तरसम्म पुर्‍याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्ने र पिसिआरकै क्षमता तथा दायरा बढाइनु पर्ने बैठकको सुझाव छ ।
 
स्वास्थ्यकर्मीलाई पर्याप्त पिपिईलगायतका सामग्री अझै पनि नपुग्दा स्वास्थ्यकर्मीहरु जोखिमपूर्ण ढङ्गले कार्य गर्न बाध्य हुनुपरेको भन्दै बैठकमा सहभागीहरुले तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी रहेकामा जोड दिएका थिए । 
 
काँग्रेसले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने किसिमले घटेका केही घटनालाई गम्भीरतापूर्वक लिंँदै त्यस्ता घटना देशभर कहीँ पनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी रहेको जनाएको छ ।
 
अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग गर्नुपर्ने, अर्कातर्फ सङ्क्रमितको सङ्ख्या बढेसँगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउनुपर्ने, अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्ने बैठकको सुझाव छ । 
 
उपचारमा कठिनाइसँगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जाँंदा त्यसले नयाँ जोखिम उत्पन्न गर्ने बारेमा सरकारको ध्यानाकर्षण गराउँदै बैठकले औषधि उत्पादन र आयातमा समयमै सचेत रहन आग्रह गरेको छ ।
 
कैयौँ ठाउँका क्वारेन्टाइन निश्चित मापदण्डअनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने र अर्कातर्फ डेंगो, मलेरियालगायत अन्य रोगको सङ्क्रमणसमेत बढ्न सक्ने भन्दै विज्ञहरुले क्वारेन्टाइनहरुको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको मुख्यसचिव पौडेलले जानकारी दिए । रासस