मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लकडाउन वैशाख २५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

लकडाउन वैशाख २५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न गर्दै आएको बन्दाबन्दी (लकडाउन) यही वैशाख २५ गतेसम्म गर्ने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गते मध्यरातिसम्म थप १० दिन बन्दाबन्दी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । 
 
अन्तर्राष्ट्रिय सीमा नाकाहरुबाट आवागमन गर्न वैशाख ३१ बुधबार मध्यरातिसम्म बढाइएको छ । “बाह्य जगतबाट कोरोना सङ्क्रमण जोखिम नरहोस् भन्नका लागि अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन यही वैशाख ३१ गते मध्यरातिसम्म गर्ने निर्णय भएको हो”, मन्त्री डा खतिवडाले भने । 
 
यसअघि वैशाख ३ देखि १५ गतेसम्मका लागि बन्दाबन्दी लम्ब्याउने सरकारले निर्णय गरेको थियो । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले एक हप्ता बन्दाबन्दी थप्न सरकारलाई सुझाव दिएको थियो ।
 
यसअघि उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउन लागू गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएकोमा चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरी चैत २५ गतेसम्म कायम राखेको थियो । 
 
यस्तै, चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थप गरी वैशाख ३ सम्म र पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गरेको थियो । 
 
यसैगरी मन्त्रिपरिषद्को आजको बैठकले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । मन्त्री डा खतिवडाले भने, “दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय भएको छ ।”