नेपाल

जसले बुबा बित्दा पनि नेपाल प्रवेश पाएनन्

जसले बुबा बित्दा पनि नेपाल प्रवेश पाएनन्


बैतडी । बुबा बितेको चार दिनसम्म पनि बैतडीका तीन मजदूरले नेपाल प्रवेश गर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा रहेका बेला ती मजदूरका बुबा बितेका हुन् ।   
 
जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र  राम धामीको बुबा बितेको चार दिन भए पनि नेपाल प्रवेश गर्न नपाएका हुन् ।
 
यता जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय  क्वारेन्टाइमा बसेका ती मजदूरलाई नेपाल ल्याउन पहल भएको  जनाएको छ ।
 
आइतबार बुबाको मृत्यु भएपछि उनीहरुलाई आज नेपाल भित्र्याइने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । 
 
घरमा बुबा बितेपछि उनीहरुलाई नेपाल भित्र्याउन भारतीय प्रशासनसँग समन्वय गरिसकिएको उनले बताए । 
 
नेपाल भित्रिँदा स्वास्थ्य चेकजाँचलगायतका सम्पूर्ण प्रक्रिया पु¥याइने जनाइएको छ । उनीहरु तीनै जना पिथौरागढको गर्मेन्ट इन्टरमेडियट कलेजमा क्वारेन्टाइनमा बसिरहेका थिए । 
 
पाँच भाइमध्ये तीन भाइ भारतमा मजदूरी गरी फर्किरहेका बेला लकडाउन भएपछि सीमामै रोकिएका थिए । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको आमाको पनि निधन भएपछि छ दिनपछि नेपाल भित्र्याइएको थियो । रासस