मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अध्यादेश पार्टी फुटाउनका लागि होइन : प्रम ओली

अध्यादेश पार्टी फुटाउनका लागि होइन : प्रम ओली


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन प्रदेशका सांसद्सँग आज अध्यादेश र बन्दाबन्दी विषयमा छलफल गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर १ र बाग्मती प्रदेशका सांसदसँगको छलफलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् नचलेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु सामान्य प्रक्रिया भएको बताए । 
 
प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “अध्यादेश ल्याउनु सरकारकोे नियमित र सामान्य काम भएको हुँदा यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।”  
 
प्रधानमन्त्री ओलीले सांसद्सँगको ब्रिफिङमा अध्यादेश पार्टी फुटाउनका लागि नभई सबै दलका लागि ल्याइएको जनाउँदै यसमा कुनै किसिमको भ्रममा नपर्न स्पष्ट पारेको थापाले जानकारी दिए । 
 
संवैधानिक आयोग पदाधिकारीविहीन भएकाले तिनलाई कामकाजी बनाउनका लागि अध्यादेश ल्याइएको र सहमतिका लागि निकै प्रयाससमेत गरिएको प्रधानमन्त्री ओलीले ब्रिफिङमा जानकारी दिएका थिए । 
 
प्रधानमन्त्री ओलीले आफ्ना प्रदेशमा लकडाउनका कारण समस्या भएको भए जानकारी गराउन सांसद्सँग आग्रह गर्दै कोरोना भाइरसबाट खतरामुक्त नभएसम्म यसलाई निरन्तरता दिइने र सीमामा अझ कडाइ गरिने बताएको प्रेस सल्लाहकार थापाले जानकारी दिए ।
 
उनका अनुसार बिहीबार बाँकी प्रदेशका सांसद्सँग ब्रिफिङ हुनेछ । सोअनुसार प्रदेश नं २ सँग बिहान १०ः३० बजे, प्रदेश नं ४ सँग अपराह्न ३ बजे,  प्रदेश नं ५ सँग अपराह्न ४ः३० बजे र  कर्णाली प्रदेशका सांसद्सँग साँझ ६ः०० बजे छलफल हुने तय भएको छ । रासस