मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो


काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ११ थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिएको विज्ञप्तिमार्फत जनाएका छन् । 
 
आज उदयपुरमा थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यसअघि आजै नै उदयपुरका ३३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा ११ जनामा सङ्क्रमण देखिएको बताए । 
 
उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा आठ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकामा दुईजनाको सङ्क्रमण देखिएको थियो । उनले ती सङ्क्रमित यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा रहेका सङ्क्रमितमध्येकै समुदाय नै रहेको जानकारी दिए । 
 
यति धेरैको सङ्ख्यामा सङ्क्रमित देखिएको यो दोस्रोपटक हो । यसअघि वैशाख ५ गते उदयपुरमा एकैपटक १२ जनामा सङ्क्रमण देखिएको थियो । योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ । यो तीन महिनामा सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । नेपालमा पहिलोपटक माघ ९ गते र दोस्रोपटक चैत १० गते विदेशबाट आएकामा सङ्क्रमण देखिएको थियो । 
 
प्रवक्ता अधिकारीका अनुसार आज पुष्टि भएका सङ्क्रमितमा दुई १८, एक २०,  एक ४०, दुई ४१, अर्का ५२ र ५८ वर्षीय पुरुष, ३६ वर्षीय महिला र एकजना उमेर नखुलेको महिला रहेका छन् । 
 
उनीहरु सबैको विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले यसअघि उदयपुरमा देखिएका सङ्क्रमितको संसर्गमा रहेका २६० जनामध्ये काठमाडौँस्थित प्रयोगशालामा परीक्षणका क्रममा दुईजनाको सङ्क्रमण देखिएको र अन्य २० जनाको हाल टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको जानकारी दिए । 
 
यसैगरी अन्य थप ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण गर्दा आठजनामा सङ्क्रमण देखिएको थियो । ती सबैको सोमबार नमुना सङ्कलन गरी अस्पतालमा पठाइएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  नेपालमा रहेका सङ्क्रमितमध्ये चारजना उपचारपछि घर फर्किसकेका छन् ।