मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैनः प्रधानमन्त्री

नेपालमा कोरोना भाइरसले महामारी रुप लिन सक्दैनः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । 
 
राससलगायत सरकारी सञ्चारमाध्यमलाई विशेष अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ परीक्षणलाई ७७ जिल्लामा नै विस्तार गरिएको, सबै ठाउँमा स्वास्थ्य सामग्री र जनशक्ति पु¥याइएको तथा सङ्क्रमित र सङ्क्रमण सम्भावितको खोजीखोजी आरडिटी र पिसिआर दुवै परीक्षणलाई तीव्रता दिइएकाले नेपालमा रोगले भयावह रुप लिन सक्ने अवस्था आफूले नदेखेको बताए ।  
 
प्रधानमन्त्री निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “नेपाल सरकारले  मानवीय मूल्य र तिनको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ ।”
 
लकडाउन नभएका देशमा बर्बादी भएको र भएका ठाउँमा सङ्क्रमण कम भएकाले विश्वस्तरमै यस्तो उपाय अपनाइएको बताउँदै उनले प्रभावकारी यो विधि अपनाइएको विषयलाई अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीसँग जोडिन नहुनेमा जोड दिए । 
 
ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्तेनिओ गुटेरेसले यसै विषयमा गरेको आग्रह तथा आगामी मे ५ (वैशाख २३)मा असंलग्न मुुलुकहरुको संगठन (नाम)ले चाल्ने  कदमको समर्थन गर्दै साझा शत्रुविरुद्ध एक हुन विश्वसमुदायलाई आह्वान गरे ।  
 
कोरोना नियन्त्रणसँगै लकडाउन खुकुलो पारिनेमात्र नभई अन्त्य गरिने स्पष्ट गर्दै उनले कोरोना अन्त्य सुनिश्चित हुनका लागि कडाइका साथ लागिने दृढता व्यक्त गरे । “विश्वमा डेढ लाख मानिस बितेका छन्, बीसौँ लाख सङ्क्रमित छन्, शुक्रबारमात्र चार हजार मानिसको निधन भएको छ, यस्तो स्थिति हामी नेपालमा नआओस् भन्नाका लागि हाल कोरोना नियन्त्रणसँगै लकडाउन कायम नै गर्छौँ”, उनले भने ।  
 
कोरोनाविरुद्धको साझा लडाइँमा मन्त्रिपरिषद्, स्वास्थ्य मन्त्रालय, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर जस्तै सबै निकायलगायत सबैको जिम्मेवारी र भूमिका उत्तिकै रहने बताउँदै उनले यसको अन्त्यमा लाग्ने सबै व्यक्ति र निकायलाई फुटबल प्रतियोगितामा सबैको उत्तिकै भूमिका हुने फुटबल खेलाडीसँग तुलना गरे । 
 
कोरोना नियन्त्रणपछि नेपालले स्वास्थ्योपचार क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै त्यसका लागि हरेक जिल्लामा आवश्यक अस्पताल, शय्या, सघन उपचार कक्ष, आइलोसन वार्ड, पिपिईजस्ता स्वास्थ्य विषय आधार बनेको बताए । 
 
दुई तिहाइ नजिकको जनादेशप्राप्त सरकार हुँदाहुँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको खास अर्थ नरहेको जनाउँदै उनले आफूले सबै राजनीतिक दल, संघसंस्था, राष्ट्रियअन्तर्राष्ट्रिय गैसस, नागरिक समाज, व्यक्ति र जनतासँग सहकार्य गर्नाका साथै बैठक, भेला गरी परामर्श गरेको एवं रायसुझाव लिएको र राम्रो सुझाव ग्रहण गर्ने गरेको जानकारी दिए । रासस