हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाडौँबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो घरजाने व्यवस्था गरिदिएका छन् ।
उनले मकवानपुरको भीमफेदी आइपुगेका पैदलयात्रीलाई उनीहरुको गृहजिल्लासँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाएका हुन् । अलपत्र परेका पैदलयात्रीलाई व्यवस्थापन गर्न तथा खाना खुवाउन दुम्की रक्स नामक एक संस्थाद्वारा तयार पारिएको शिविरमै पुगेर मुख्यमन्त्री पौडेलले पैदलयात्रीसँग कुराकानीसमेत गरेका थिए ।
सो अवसरमा उनले प्रदेश सरकारले अलपत्र परेका सबै यात्रुको मानवीय ढंगमा व्यवस्थापन गर्ने बताए । पौडेलले यात्रुसँग कुराकानी गर्दै विभिन्न सुझावसमेत दिए । उनले अब घर फर्केर कृषि उत्पादनमा लाग्न सल्लाहसमेत दिए ।
सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकार मानवताको पक्षमा रहेको बताए । उनले अलपत्र परेका यात्रुहरुसँग काठमाडौँ छाड्नुपर्ने कारणका बारेमा सोधपुछ गरेका थिए ।
जवाफमा कतिपय यात्रुले काम नभएको, आफूहरुसँग भएको खर्च सकिएको तथा मजदूर भएका कारण प्राप्त राहत अपुग भएकाले घर फर्किनुपरेको बताएका थिए ।
काठमाडौँबाट पैदलयात्राका क्रममा भीमफेदी आइपुगेका यात्रुका लागि स्थानीय दम्की रक्स भीमफेदी नामक संस्थाले खाना खाने तथा बास बस्ने व्यवस्थासमेत गरेको स्थानीय पत्रकार सुरेन्द्र थिकेले जानकारी दिए ।
यसैबीच, सर्लाही जाने पाँच जनाको टोलीलाई गाउँपालिकाका अध्यक्ष हृदम लामाले आफ्नो गाडीमा राखेर पथलैयासम्म पठाएका थिए ।
पथलैयामा आफ्ना नागरिकलाई लिन सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईंले गाडी पठाएका थिए । हरिवनका नगर प्रमुख प्रसाईंलाई मुख्यमन्त्री पौडेलले टेलिफोन गरेर गाडी पठाउन भनेको अध्यक्ष लामाले जानकारी दिए ।
नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौँमा खान समस्या पर्न थालेपछि घर हिँडेको मजदूरले बताएका छन् । घर जान उनीहरु बिहान ५ः०० बजे काठमाडौँबाट हिँडेर अपराह्न करिब ४ः०० बजे भीमफेदी आइपुगेका थिए ।
उनीहरुलाई गाउँपालिकाले दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको छ । लकडाउनका कारण हिँडेर आएर अलपत्र परेका सबै पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पुर्याइने लामाले जानकारी दिए ।
यात्रुको उद्धारमा मुख्यमन्त्री पौडेलसँग समन्वय गरेका अध्यक्ष लामाले अलपत्र यात्रुलाई खानपिन र बास बस्ने व्यवस्थाका लागि भएको सम्पूर्ण खर्च भीमफेदी गाउँपालिकाले व्यहोर्ने बताए ।








प्रतिक्रिया