मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पुर्‍याउन कांग्रेसको आग्रह

अप्ठ्यारोमा रहेकालाई सुरक्षित गाउँ पुर्‍याउन कांग्रेसको आग्रह


काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिँदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पुर्‍याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।
 
सयौँ किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने कांग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै कोठाभित्र छट्पटिएर र सडकमा तड्पिएर नागरिकको मृत्यु भएको दृश्य मौनतापूर्वक प्रतीक्षा गर्ने समय पनि नभएको उल्लेख गरेका छन् । 
 
“गाउँमा रहेका नागरिकको स्थिति पनि कष्टकर बन्दै गएको छ । तिनको हृदयको प्रश्न हामी सरकारसमक्ष राख्न चाहन्छौँ—अहिलेको प्राथमिकता सुकुम्बासीलाई जग्गा कि जाउलो, सरकार ? आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सकिन्छ तर सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको व्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न किन सकिन्न ?” विज्ञप्तिमा भनिएको छ । 
 
उनले नागरिकलाई कोरोनाको संक्रमणबाट जोगाउन परीक्षणको दायरा व्यापक बनाउन र भोकमरीबाट जोगाउन पर्याप्त राहतको व्यवस्था गर्न सरकारलाई अपिल गर्दै सचेतसमेत गराएका छन् । 
 
प्रवक्ता शर्माले भनेका छन्, “अघिल्तिरको स्थिति देखिन्छ भने देख्नुपर्‍यो सरकार । सुनिन्छ भने सुन्नुपर्‍यो , बुझिन्छ भने बुझ्नुपर्‍यो । गम्भीर परिस्थितिको गहिरो समीक्षा गर्दै उच्च व्यवहार कुशलता साथ सरकारले कार्य गरोस्, सङ्कटमा साथ रहेको प्रतिपक्षी दल सरकारलाई सचेत गराउँदछ ।” रासस
 

शेयर गर्नुहोस:

0
Shares