मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

नेपालमा थप तीन जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि


काठमाडौँ । नेपालमा थप तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय प्रयोगशालामा शनिबार राति भएको परीक्षणबाट तीन व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले कोभिड सङ्क्रमित व्यक्तिमध्ये वर्ष ३७, ५५ र ४४ का पुरुष रहेको बताए । 
 
वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा कोभिडको शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको थियो । 
 
उनीहरुको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिएकामा २१ मध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुनः यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
 
कोभिड पुष्टि भएका व्यक्तिलाई आइसोलेशनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा देवकोटाले बताए । कोभिड सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कार्य पनि सुरु भइसकेको मन्त्रालयले जनाएको छ । 
 
स्वास्थ्य मन्त्रालयले हाल कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थपिरहेको अवस्थामा थप रणनीति बनाउँदै लकडाउनको पूर्णरुपमा पालना गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ । 
 
प्रवक्ता डा देवकोटाले कोभिड–१९ को परीक्षणको दायरा बढाएर समयमै सङ्क्रमितको पहिचान गरी भावी रणनीति तय गर्न सहज हुने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरे । 
 
मन्त्रालयले अहिलेसम्म पिसिआर प्रविधिबाट पाँच हजार १८४ जनाको परीक्षण गरिसकेको छ । पछिल्लो चौबिस घण्टामा ७९५ जनाको परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पहिल्लो २४ घण्टामा ६२८ समेत अहिलेसम्म जम्मा चार हजार २० जनाको परीक्षण भएको छ ।  
 
काठमाडौँ उपत्यकाबाहिरका प्रयोगशाला पछिल्लो २४ घन्टामा १६७ समेत एक हजार १६४ को परीक्षण भएको छ । 
 
देशभरमा अहिले आइसोलेशनमा ८५ र क्वारेइन्टाइनमा सात हजार ९७३ रहेका छन् । आइसोलेसनमा काठमाडौँमा १५ र उपत्यकाबाहिर ७० जना छन् । ¥यापिड टेस्ट किट सबै जिल्लामा पुगेर काम सुरु भइसकेको मन्त्रालयले जनाएको छ । तीन हजार ३२१ जना ¥यापिड टेस्ट भएको  छ । मन्त्रालयले कल सेन्टर १११५ र ११३३ मा गरेर तीन हजार १३६ कल रिसिभ गरेको छ । मोबाइल एप्स र वेबसाइटबाट क्वारेइन्टाइन रहेकासँग सम्पर्क भइरहेको छ । 
 
मन्त्रालयले सम्भावित सङ्क्रमितको खोजी गर्ने क्रममा एक हजार ५७० ले विवरण भर्न भनिएको छ । तीमध्ये ९५४ जना इन्ट्री गरेको बताइएको छ । पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा रहेको पहिचान गरिएको छ । यससँगै रेड जोनमा पर्नेको सङ्ख्या हालसम्म २०६ पुगेको छ । 
 
यसैबीच, मन्त्रालयलाई गैरआवासीय नेपाली सङ्घ समन्वय परिषद् दक्षिण कोरिया र देउराली जनता फर्माले अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
 
सरकारले दार्चुला जिल्लामा ४६० जनाको पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गरेको प्रवक्ता देवकोटाले बताए । बाँकी कोभिड सङ्क्रमितमध्ये दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा उपचार भइरहेको छ । थप दुई बाग्लुङ र चारजनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन् । 
 
दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । 
 
त्यस्तै चैत १२ गते पुनः एकजनामा कोभिड पोजिटिभ देखिएको थियो । यस्तै चैत २० गते बाग्लुङका ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लोपटक चैत २२ गते एकै सुदूरपश्चिममा थप तीनजनामा कोभिड सङ्क्रमण भेटिएको थियो ।
 
भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो ।
 
नेपालमा माघ ९ गते पहिलो पटक चीनको वुहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । चीनको वुहानमा गत डिसेम्बर ३१ मा पहिलोपटक देखिएको कोभिड–१९ को सङ्क्रमण हाल विश्वका दुई सयभन्दा बढी फैलिसकेको अन्तर्राष्ट्रिय तथ्याङ्कले देखएको छ । कोभिडबाट विश्वभर एक लाखभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १७ लाख सङ्क्रमित भएका छन् । रासस

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares