मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कोरोनाभाइरसको नमुना परीक्षणको दायरा बढाइयो

कोरोनाभाइरसको नमुना परीक्षणको दायरा बढाइयो


काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नमूना सङ्कलन र परीक्षणको दायरालाई फराकिलो पारेको छ । रोगको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिँदै दक्षिणी नाका आवागमनमा कडाइ गरेको सरकारले परीक्षणको गति पनि उसैगरी बढाउँदै लगेको हो । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मार्फत पनि मुलुकका धैरजसो जिल्लामा परीक्षण थालिएको स्वास्थ्य मन्त्रायले जनाएको छ । 
 
सुरुमा काठमाडौँमा मात्रै सीमित रहेको परीक्षणलाई देशव्यापी बनाउने उद्देश्यअनुसार यन्त्र उपकरण थपेर आवश्यक काम भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
 
यसअघि जनस्वास्थ्य प्रयोगशालामा हुँदै आएको कोभिड–१९ सङ्क्रमणको परीक्षण आजदेखि वीर अस्पतालमा पनि सुरु भएको छ । आइतबारदेखि टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालमा समेत थालिने डा देवकोटाले बताए । 
 
नागरिकले धेरैभन्दा धेरै परीक्षण गरेर रोग नियन्त्रणमा लाग्न सरकरालाई अनुरोध गर्दै आएका छन् । नागरिकको चासोप्रति गम्भीर हुँदै सरकारले रोग नियन्त्रणका प्रभावकारी उपाय अपनाउँदै आएको छ । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणअनुसार हालसम्म चार हजार ४२६ जनाको नमूना परीक्षण भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८९७ जनाको नमूना परीक्षण गरिएको छ । यो गएको हप्ताको परीक्षणभन्दा निक्कै धेरै हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म तीन हजार ३९२ को परीक्षण भएकामा पछिल्लो २४ घन्टामा मात्रै ६०९ जनाको परीक्षण भएको छ । उपत्यका बाहिर ७४२ वटा परीक्षण भएको छ ।
 
त्यसमध्ये  पछिल्लो २४ घन्टामा २८८ वटा नमूनाको परीक्षण भएको डा देवकोटाले बताए । नमूना परीक्षण प्रतिदिन झण्डै ८०० भएको छ । नमूना सङ्कलनसमेत बढेकाले परीक्षणको दायरा पनि बढाइएको हो ।
 
“तीन दिनदेखि र्‍यापिड डाइग्नोष्टिक किट (आरडिटी)मार्फत पनि परीक्षण शुरु गरेका छौँ, यो समुदायमा सङ्क्रमण छ छैन भनेर हेर्नका लागि हो, रोगसँग लड्न सक्ने प्रतिरोधात्मक शक्ति छ छैन भनेर उक्त कीटले हेर्न सक्छ, धेरै जिल्लामा पुगिसकेको छ, केहीमा सुरु हुँदैछ”, डा देवकाटाले भने । सुदूरपश्चिमका सबै जिल्लामा परीक्षण थालिएकोसमेत उनले बताए । 
 
काठमाडौँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण हुँदै आएकामा आजदेखि वीर अस्पतालबाट समेत परीक्षण थालिएको छ । 
 
आइतबारदेखि टेकु अस्पतालबाट समेत नमूना परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीरमा शुरु भएसँगै आजदेखि उपत्यकामा दुई ठाउँबाट परीक्षण थालिएको छ । 
 
दार्चुलामा पनि स्वाबको नमूना परीक्षण भइरहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्ति सबैको ¥यापिड डाइग्नोष्टिक किटबाट नमूना परीक्षण गर्न थालिएको र अब केही दिनमा सबै क्षेत्रको परीक्षण सक्ने योजना मन्त्रालयको छ । 
 
टेष्ट बढाउनका लागि भनेर धेरै प्रश्न आएको उल्लेख गर्दै डा देवकोटाले काठमाडौँ उपत्यका बाहिर धेरै ठाउँमा शुरुआत भइसकेको र केही ठाउँमा यन्त्र जडान कार्य जारी रहेकाले छिट्टै सुरु हुने आश्वासन दिए । ७७ जिल्लाबाट परीक्षण गराउने प्रक्रियामा सरकार रहेको छ । पिसिआरबाट हुने नमूना परीक्षणको दायरासमेत बढिरहेको डा देवकोटाले बताए । 
 
८ हजार ८२ जना क्वारेन्टाइनमा
 
आजसम्मको प्राप्त विवरणअनुसार मुलुकभर आठ हजार ८२ जना क्वारेन्टाइनमा छन् । नेपालको स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा उनीहरु बसिरहेका हुन् । आइसोलेसनमा ८२ जना छन् । 
 
काठमाडौँ उपत्यकामा १५ र बाहिर ६७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको निःशुल्क कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा तीन हजार ४० जनाले जिज्ञासा रोखेकामा उनीहरुको जिज्ञासा सम्बोधन गरिएको छ । 
 
पछिल्लो २४ घन्टामा रेड जोनमा पाँच जना रहेका छन् । अहिलेसम्म १८९ जना रेड जोन लिष्टमा छन् । उनीहरुलाई स्वास्थ्यमन्त्रालयले महाशाखामार्फत टे«सिङ गर्ने काम गरिरहेको छ । 
 
कोभिड–१९ का बारेमा मन्त्रालयको वेब पेज, ‘हाम्रो स्वास्थ्य’ एप्स र कल सेन्टरबाट आवश्यक जानकारी दिने गरिएको र दैनिक ४ः१५ बजे विवरण लाइभ सार्वजनिक गर्ने गरिएको छ । 
 
क्वारेन्टाइनमा बस्नेसँग कल सेन्टर, वेब पेज वा ‘हाम्रो स्वास्थ्य’ एप्स बाट सिधा सम्पर्क भइरहेको र कोही छुट्नुभएको भए जोडिनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
 
प्रवक्ता डा देवकाटाले भने, “यसको प्रयोग गरिदिन सबैमा आग्रह गर्दछु, प्रविधिको प्रयोग गर्दा आफ्नो स्वास्थ्यका बारेमा जानकारी पाउन सकिन्छ, दोहोरो संवाद गरेर जिज्ञासा मेटाउन सहज हुन्छ र आएका सुझावअनुसार हामीलाई रणनीति बनाउनसमेत सहयोग पुग्छ ।”
 
नयाँ सङ्क्रमित छैनन् 
 
मन्त्रालयले आजसम्म नौ जनामात्रै कोभिड–१९ बाट सङ्क्रमण रहेको र विगत केही दिनदेखि नथपिएको प्रष्ट पारेको छ । नौमध्ये आठ जना उपचाररत छन् । चार जना सेती प्रादेशिक अस्पतालमा, दुई जना टेकु अस्पताल र दुई जनाको बाग्लुङ अस्पतालमा उपचार जारी छ । 
 
नेपालमा माघ ९ गते पहिलो पटक चीनको उहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो । उनी उपचारपछि निको भएका छन् भने अन्यको उपचार चलिरहेको छ ।  पछिल्ला समयमा भारतबाट आउनेहरुबाट जोखिम बढ्दो रहेकाले सरकारले नाकामा कडाइ गरेको छ । 
 
 चीनको उहानमा गत डिसेम्बर ३१ मा पहिलो पटक देखिएको कोभिड–१९ विश्वकै लागि नयाँ रोग हो । अहिलेसम्म विश्वमा झण्डै १६ लाख सङ्क्रमित भएकामा एक लाख बढीको मृत्यु भइसकेको छ । दुई सयभन्दा बढी देशमा रोग देखिएको छ । धेरैजसो देशले सङ्क्रमण रोकथामका लागि लकडाउन निर्विकल्परुपमा अपनाएका छन् । नेपालले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । रासस

शेयर गर्नुहोस:

0
Shares