नेपाल

भ्रामक अडियो रेकर्ड सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ

भ्रामक अडियो रेकर्ड सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ


काठमाडौँ । नेपाल प्रहरीले कोभिड–१९ को सङ्क्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एकजनालाई पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । 
 
थापा मगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा  प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मगरले विनादर्ता सञ्चालन भएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको बताइएको छ । 
 
नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको उक्त अडियो एक मिनेटको छ । 
 
अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । उक्त अडियोका विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ भने जनमानसमा भ्रम सिर्जना भएको थियो । 
 
प्रहरीले गलत हल्लाका पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रहसमेत गरेको छ ।  सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारवाही गर्ने जनाइसकेको छ । नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड–१९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको छ ।