नेपालगञ्ज । नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिने नेपालीको सङ्ख्या दैनिक बढेको छ । भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि विभिन्न पेशा र रोजगारी गरेर बसेका र त्यहाँका स्कूल तथा कलेजमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।
“कोरोनाको हल्लाले नेपाली धमाधम घर फर्किरहेका छन्, कतिपयलाई कामबाट बिदा दिइएको छ भने अधिकांश सन्त्रासले घर आउने क्रम निरन्तर बढ्दो छ”,उनले भने । यसरी फर्किनेमा अधिकांश कर्णाली प्रदेशको कालीकोट, जुम्ला, सुर्खेतलगायत छन् । उनीहरु हिमाञ्चल, सिमला, लखनऊ, दिल्लीलगायत सहरबाट स्वदेश फर्र्किएका हुन् ।
भारतबाट आउनेलाई नाकामा जाँचपछि मात्र प्रवेश दिइएको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको पछिल्लो तीन दिनमा सो नाकाबाट २४ हजार दुई सय ३२ जना नेपाल प्रवेश गरेका छन् । सो परीक्षण कक्षमा जाँच गरी दैनिक नेपाल भित्रिनेको तथ्याङ्क राख्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।
मुख्य नाकामा सवारीसाधन आवतजावतमा रोक लगाइएपछि खुला सिमानाका कारण ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट आवतजावत गरेको पाइएकाले छोटी नाकामा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार बाँकेको नरैनापुर, डुडुवा, जानकी गाउँपालिकासँग सीमा जोडिएको भारतीय छोटी नाकामा अवैध आवतजावत रोक्न प्रहरी परिचालन गरिएको छ । तस्वीरः शेरबहादुर सिंह / रासस
प्रतिक्रिया