काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्वरभर फैलिएको ‘कोभिड १९’ को रोकथामको प्रयास साझा रहेको भन्दै यसका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
बिहीबार मन्त्रालय र प्रेस काउन्सिल नेपालले संयुक्त रुपमा आयोजना गरेको कोरोना भाइरस सङ्क्रमण र मिडियाको भूमिका विषयक छलफलमा मन्त्री ढकालले महामारी नियन्त्रण एक्लैको प्रयासले नहुने भन्दै सबैको सहयोग आवश्यक हुने बताए ।
कोरोनाबारे सञ्चारमाध्ययममा अपुष्ट समाचार आउने गरेको भन्दै मन्त्री ढकालले सत्यतथ्यको आधारमा समाचार प्रकाशन प्रशारण गर्न पनि आग्रह गरे ।
सोही मन्त्रालयमा राज्यमन्त्री नवराज रावतले भाइरस नियन्त्रणको लागि सरकारले उच्च सतर्कता अपनाएको र यसमा साथ दिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अत्यावश्यक काममा बाहेक अन्य समयमा घरबाट ननिस्कन सबैलाई आग्रह गरे ।
प्रवक्ता डा देवकोटाले विभिन्न अस्पतालमा हालसम्म ५२९ जनाले यस भाइरसको परीक्षण गरेको भए पनि हालसम्म कसैमा पनि यसको सङ्क्रमण नदेखेनु सकारात्मक रहेको भन्दै सतर्क रहन भने आवश्यक रहेको बताए ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले भाइरस नियन्त्रणको लागि सरकारको प्रयास सकारात्मक रहेको भन्दै यसमा सहयोग दिनका लागि सञ्चारमाध्यमको पनि निकै ठूलो भूमिका रहने बताए ।
प्रतिक्रिया