मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाको जोखिमबाट बच्न भारतीय नागरिक धमाधम नेपाल आउँदै

कोरोनाको जोखिमबाट बच्न भारतीय नागरिक धमाधम नेपाल आउँदै


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वभर महामारीको रुपमा फैलिएपछि आममानिसमा त्रास बढेको छ । विश्व स्वास्थ्य संगठनले अहिलेसम्म नेपाललाई मात्र सुरक्षित देशका रुपमा चित्रण गरेको छ । यद्यपि, अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिनसक्ने भन्दै कडा चेतावनीसमेत दिएको छ । 
 
पछिले समय संक्रमण बढी भएका मुलुकहरुका नागरिकले आफ्नो देश छाडेर सुरक्षित वा कम जोखिम रहेका देशहरुमा जाने क्रम बढेको छ । यसै क्रममा भारतमा कोरोनाको संक्रमण बढेको छ । भारतमा बुधबारसम्म १६९ मानिस प्रभावित भएका छन् भने तीन जनाको मृत्यु भएको छ । 
 
भारतीय नागरिकहरु अहिले धमाधम विमान चढेर नेपाल आउन थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्ठलबाट दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखे पनि भारतीयहरु हवाइयात्रामार्फत नेपाल आइरहेका छन् । 
 
नेपाल आएका भारतीय नागरिकहरूले कोरोनाको त्रासका कारण सपरिवार नेपाल आएको बताएका छन्‌ । त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि सुरक्षित हुन नेपाल आएको बताएका छन् । 
 
उनी भारतको चेन्नाईबाट यता आएका हुन् । उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गर्दै आएकाले यतै बस्न आएको उनले सुनाए । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण फैलिनसकेकोले यहाँ सुरक्षित हुन आएको उनको भनाइ छ। भारतले अप्रिल दोस्रो हप्तासम्म कलेज बिदा गरेकाले उनी सो अवधिसम्मका लागि नेपाल आएका हुन् । 
 
विदेशबाट नेपाल आउने नागरिकलाई नेपालमा ‘थर्मल गन’ र ‘स्क्रिनिङ’ गरेर परीक्षण गर्ने गरिएको छ । त्रिभुवन विमानस्थलभित्रको स्वास्थ्य परीक्षण गर्ने शैली प्रभावकारी नभएको उनको भनाइ छ । भारतीय विमानस्थलमा जस्तो नेपालमा स्वास्थ्य परीक्षण नभएको उनले बताए । 
 
यस्तै, २५ वर्षे श्याम शर्मा पनि भारतबाट आएका थिए । भारतको दिल्लीबाट आएका श्यामा अभिभावकका साथमा बस्न आएको उनले बताए । नेपालमा बसेका अभिभावकले उनलाई बोलाएर उनी आएका हुन् ।
 
‘भारतका अधिकांश मानिस भयभीत छन्, बाहिरतिर निस्कन सकेका छैनन्’, उनले भने । उनका अन्य साथीहरु पनि नेपाल आउन इच्छुक रहेका छन् । उनका अनुसार भारतका धेरै नागरिक त्रासमा छन् । दिल्ली सरकारले ५० जनाभन्दा बढी भेला नहने आदेश जारी गरेको छ । 
 
नेपालमा दैनिकजसो १५० जना भारतीय नागरिक आइरहेका नेपाल अध्यागमन विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले बताएका छन् । अध्यागमन विभागलाई हवाइ उडान रोक्ने कुनै अधिकार नरहेको उनले बताए । भिसा प्रक्रियामात्र अध्यागमन विभागले हेर्ने भएकोले यसमा अध्यागमन विभाग जिम्मेवार नरहने उनको भनाइ थियो । 
 
‘देशको नागरिकको स्वास्थ्यमा भयावह हुने अवस्था आएमा नागरिकको स्वास्थ्य सुरक्षालाई लिएर केही समयको लागि विमानस्थल बन्द गर्नलाई सिफारिस गर्न सकिन्छ,’ उनले भने, ‘कूटनीतिक सम्बन्ध रहेकोले पनि कतिपय अवस्थामा नागरिकलाई बन्देज गराउँन मिल्दैन ।’ 
 
विदेशबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको उनले बताए। सकेसम्म विदेशी वा नेपाली यात्रुको राम्रोसँग परीक्षण गर्ने गरिरहेको छौँ,’ तिवारीले भने,’ बाहिर मिडियामा आएजस्तो कमजोर व्यवस्थापन छैन।’ थर्मल गन र स्क्रिनिङ गरेर प्रत्येक नागरिकको परीक्षण गरिरहेको उनले जानकारी दिए । एजेन्सी