मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमानको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान

श्रीमानको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान


तनहुँ । श्रीमानको हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 
 
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ परेकी ४० वर्षीया सम्झना कार्कीलाई अदालतले आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
 
थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश वासुदेव पौडेलको आदेशबाट सम्झना पुर्पक्षमा लागि थुनामा गएको जिल्ला स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए । सम्झनालाई प्रहरीले गत फागुन ८ गते पक्राउ गरेको थियो । रामबहादुरको गत माघ १७ गते हत्या भएको थियो । 
 
गत माघ १७ गते भएको घटनामा मृतककी श्रीमतीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरेर मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।
 
माघ १८ गते बिहान रामबहादुर कार्की घरमै सुतिरहेको अवस्थामा मृतावस्थामा फेला परेका थिए । श्रीमान् मृतावस्थामा फेला परेपछि श्रीमती सम्झनाले नै प्रहरीमा खबर गरेकी थिइन् । 
 
प्रहरीले उक्त घटनामा मृतककी श्रीमती सम्झनाले प्रयोग गर्ने मोबाइलको ‘कल डिटेल रेकर्ड’ लगायतको विवरण निकालेर अनुसन्धान गर्दा आफ्नै श्रीमान्लाई कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । उनका अनुसार घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको छ ।
 
मृतक रामबहादुरले दैनिक मदिरा सेवन गर्ने गरेका थिए । घटनाको दिन पनि उनले मदिरा सेवन गरेर सुतेका थिए । मृतावस्थामा फेला परेका उनको घाँटीमा नीलो डाम देखिएपछि हत्या भएको हुन सक्ने प्रहरीलाई शंका थियो । उनको शवपरीक्षणमा सामान्य मृत्यु नदेखिएकाले प्रहरीले विस्तृतरुपमा घटनाको अनुसन्धान थालेको थियो । मृतकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
श्रीमानको मृत्युपछि सम्झनाले १३ दिने काजकिरियासमेत गरिसेककी थिइन् । घटना घटेपछि शुरुमा सम्झनाले मृतकको शव परीक्षण गर्न आनाकानी गरेकी थिइन् । मृतकका अन्य आफन्तले शव परीक्षण गर्नुपर्ने बताएपछि मृतकको शवपरीक्षण भएको थियो । 
प्रहरीले सम्झनालाई विभिन्न चरणमा सोधपुछ गर्दा निजले घटना स्वीकार गरेको प्रहरीले जनाएको छ ।