काठमाडौँ । चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) अहिलेसम्म १६६ देशमा फैलावट भएको छ ।
यसको महामारीले सात हजार ९८८ व्यक्तिको ज्यान लिइसकेको छ भने विश्वभर एक लाख सात हजार ८३४ क्वारेन्टाइनमा रहेर उपचाररत छन् । यस्तै, बुधबार बिहानसम्म ८२ हजार ७७९ जना निको भएर घर फिरेका छन् ।
हालसम्म कोरोना महामारीले एक लाख ९८, हजार ६०१ जनालाई प्रभावित गरेको छ । तर, संयोग नै मान्नुपर्छ, यो प्रकोपबाट नेपाल भने चोखै छ ।
नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि निको भइसकेको र अन्य व्यक्तिमा देखा नपरेपछि यसैलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई मात्र हरियो सूचीमा राखेको हो ।
विश्व स्वास्थ्य संगठनले यसअघि मकाउ, जिब्राल्टारलगायतका देशलाई पनि हरियो रंगको सूचीमा राखेको थियो । तर, ती देशमा पनि संक्रमित भेटिएपछि अहिले कोरोना प्रभावित देशमा नेपालमात्र नयाँ कोरोना संक्रमित नभेटिएको देशका रुपमा परिचित भएको छ ।
कोरोना भाइरसको तथ्यांक संकलन गरी अपडेट गदैृ आएको वर्ल्डोमिटरले पनि अहिलेसम्म नेपाललाई मात्र हरियो रंग लगाएको छ । हरियो रंगको अर्थ ‘अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्ति निको भएको र अरु संक्रमित नभएको’ उल्लेख गरेको छ ।
समाचार एजेन्सीले सार्वजनिक गरेको नक्सामा नेपाललाई मात्र हरियो रंग दिइएको छ । नक्सामा गाढा रातो रंगलाई कोरोनाबाट संक्रमितको मृत्युदर बढी भएको, सिन्दुर रंगलाई संक्रमित बढी भएको र निलो रंगलाई शंकास्पद सूचीमा राखिएको छ । एजेन्सी
प्रतिक्रिया