मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति भण्डारी

कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छन् । 
 
राष्ट्रपति भण्डारीले शनिबार ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गरेकी हुन् ।
 
राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ ।”
 
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापी समस्याका रुपमा देखिएको कोरोना भाइरस नियन्त्रण गर्न र प्रतिकार्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
 
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेशमा कोरोना भाइरस भित्रिन नदिन आवश्यक तयारी गरिएको जानकारी दिए । 
 
उच्चस्तरीय निर्देशन समितिका समेत संयोजक रहेका मुख्यमन्त्री गुरुङले आवश्यक स्रोतसाधनको अधिकतम उपयोग गर्दै रोकथामको पूर्ण तयारी गरिएको बताए ।
 
कोराना सङ्क्रमणका नाममा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने उल्लेख गर्दैै उनले यस सम्बन्धमा अनुगमन प्रभावकारी बनाइएको बताए । 
 
सामाजिक विकासमन्त्री नरदेवी पुनले कोरोना सङ्क्रमण भित्रिन नदिन पूर्वसजगता अपनाइसकिएको बताउँदै आवश्यक सम्पूर्ण तयारी गरिएको बताइन् । 
 
कोरोनाका सम्बन्धमा आवश्यकताभन्दा बढी अफवाह फैलाइने गरेको बताउँदै उनले जनतालाई आतङ्कित नहुने गरी यसतर्फ सचेतना जगाउनु सञ्चारमाध्यमको कर्तव्य भएको उल्लेख गरे । 
 
कास्कीका प्रजिअ रमेश केसीले कृत्रिम अभाव देखाएर अनावश्यक मूल्यवृद्धि गर्ने दुई औषधि पसललाई रु ५०÷५० हजार जरिवानासहित कारवाही गरिसकिएको बताउँदै यस्तो अवस्थालाई निरुत्साहित गर्न सर्वसाधारणमा सजगता एवम् सबैको सहयोग आवश्यक हुनेमा जोड दिए ।
 
गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र कास्कीको पोखरामा पाँचजनाको कोरोना भाइरसको सङ्क्रमणको आशंकामा परीक्षण गरिएकामध्ये पनि दुईजना सङ्क्रमण मुक्त रहेका  स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 
 
उनका अनुसार पोखरा र म्याग्दीका एक।एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरूको रगतको नमूना परीक्षणका लागि सङ्घीय प्रयोगशाला काठमाडौँ पठाइएकामा रिपोर्ट नेगेटिभ आएको हो । तीमध्ये एकजना कोरियाबाट फर्किएका व्यक्ति हुन् ।
 
उनका अनुसार रिपोर्ट आउन बाँकी तीनजनालाई क्वारेन्टाइनमा राखिएकाले कोरोना भाइरसको सङ्क्रमण भएका र शङ्कास्पद व्यक्तिलाई राख्नका लागि पोखराका विभिन्न अस्पतालमा ७० श्ययाको ‘आइसोलेशन’ तयारी गरिएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कर्मचारी तथा मजदूर चीनबाट नै कोरोना सङ्क्रमण नभएको स्वास्थ्य प्रमाणपत्रसहित आएका उक्त अवसरमा जानकारी गराइयो ।
 
गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाका आइसोलेसन वार्ड पिपिईको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइसक्नाका साथै तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ ।