मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड–१९ विरूद्धको लडाईंमा विजयनजिक पुगेको चीनको दाबी

कोभिड–१९ विरूद्धको लडाईंमा विजयनजिक पुगेको चीनको दाबी


बेइजिङ । घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार भएको बेइजिङले जनाएको छ ।
 
विश्व स्वास्थ्य संगठनले भाइरस सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घन्टापछि चीनकोे यो भनाइ आएको हो ।
 
कोभिड–१९ सङ्क्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताएका छन् । उनले भने, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।”
 
मीले भने, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अंकमा भरेको छ ।”  वुहानमा नयाँ सङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सीमित भएको उनले पुष्टि गरे । 
 
“हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उनले भने । 
 
उनले थपे, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।” 
 
चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उनको भनाइ थियो ।
 
विश्व स्वास्थ्य संगठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।
 
बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस सङ्क्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गुमाएका संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकार सम्मेलनमा बताए । 
 
आगामी केही दिन (हप्ता) कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए ।
 
प्रवक्ता मीले भने, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र सङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।” सिन्ह्वा