मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मूल्य वृद्धि र कालोबजारीविरुद्ध नागरिक सडकमा उत्रिए

मूल्य वृद्धि र कालोबजारीविरुद्ध नागरिक सडकमा उत्रिए


काठमाडौँ । कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् । 
 
चक्रपथ सफाइ अभियानले सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो । र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए ।
 
कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्य वृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले बताए । 
 
कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन । सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए । 
 
सो अवसरमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले कालोबजारी र मूल्यवृद्धि गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन नागरिकले आवाज बुलन्द गर्दै दबाब दिनुपर्नेमा जोड दिए ।
 
शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पन्तले सामान्य रुघाखोकी लाग्दैमा नडराई स्वास्थ्यकर्मीको सल्लाह लिन आह्वान गरेका थिए। 
 
देशमा तीन तहको सरकार भए पनि कालोबजारी, उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्य वृद्धिको अनुगमनमा कसैले ध्यान नदिएको सहभागी राधिका गिरीले गुनासो गरे । 
 
सफाइ अभियानले कालोबजारी गर्नेका विरुद्ध सूचना सङ्कलन गरी नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई कानूनी कारवाहीका लागि दिन लागिएको संयोजक कुँवरले दिएका थिए । 
 
सो अवसरमा शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले कोरोना भाइरसका बारेमा जनचेतना जगाउँँदै फोहर नगर्न सुझाव दिएका थिए ।