मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमित बढ्दै

पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमित बढ्दै


पर्सा । मौसम परिवर्तनसँगै पर्सामा भाइरल इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको सङ्ख्यामा वृद्धि भएको छ । बदलिँदो मौसमका कारण तापक्रममा हुने अस्वाभाविक परिवर्तनले जिल्लामा रुघाखोकी र ज्वरोका रोगीको सङ्ख्या बढेको हो । 
 
दिनभरि चर्को घाम लाग्ने र बिहान बेलुका हुने चिसोका कारण भाइरल इन्फ्लुएन्जाका रोगीको सङ्ख्या बढेको चिकित्सकको भनाइ छ ।  एक सातायता नारायणी अस्पतालमा आउने इन्फ्लुएन्जाबाट सङ्क्रमित रोगीको सङ्ख्या अत्यधिक वृद्धि भएको अस्पतालले जनाएको छ ।
 
अस्पतालको बहिरङ्ग विभागमा उपचारका लागि आउने रोगीमध्ये दुई तिहाईभन्दा बढी इन्फ्लुएन्जाबाट सङ्क्रमित बिरामी रहेको चिकित्सकले बताएका छन् ।
 
इन्फ्लुएन्जाबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा शैलेश ठाकुरले बताए ।
 
उनले रुघाखोकी र कडा ज्वरोबाट ग्रसित भएका दैनिक २०० भन्दा बढी बालबालिका उपचारका लागि अस्पताल आउने गरेको जानकारी दिए । 
 
मौसम परिवर्तनसँगै हुने बिरामीलाई जोगाउन तातो झोल पर्दाथको सेवन बढाउनुका साथै सरसफाइमा ध्यान दिन डा ठाकुरले सर्वसाधारणलाई आग्रह गरे ।
 
उनले नियमित साबुन पानीले हात धुनुका साथै चिसो हावाबाट बालबालिकालाई जोगाए मौसमी रोगबाट बचाउन सकिने सुझाव दिए ।
 
रोग प्रतिरोधात्मक क्षमता कम भएकै कारण बालबालिका तथा वृद्धवृद्धा मौसमी रोगबाट बढी सङ्क्रमित हुने गरेको  इर्मेजेन्सी रोग विशेषज्ञ डा उदयनारायण सिंहले जानकारी दिए । 
 
उनले हरियो सागसब्जी तथा फलफूलको प्रयोग बढाउनुका साथै नियमित व्यायाम गरे मौसमी सङ्क्रमणबाट जोगिन सकिने बताए ।