मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता

कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता


चितवन । चीनबाट सुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ ।
 
अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भीडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो । 
 
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । 
 
जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ । रोगको सङ्क्रमण देखिहालेमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उनले जानकारी दिए । 
 
जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ ।
 
जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उनले जानकारी दिए ।
 
जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ । उनका अनुसार कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर उनीहरुसँग छलफल गरिँदैछ ।
 
प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ । रोगको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आन्तरिकरुपमा छलफल गर्न लागिएको उनले जानकारी दिए । 
 
प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिए । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यसवर्ष भीडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उनले बताए ।
 
यस्तै, ठूला भोजभतेर नगर्न सबैमा अनुरोध गरिएको बताउँदै उनले भने, “यस विषयमा सञ्चारमाध्यमले आमनागरिकलाई बुझाइदिनुप¥यो ।”
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दैछ ।
 
जिल्लामा कोरोना भाइरसको लक्षण देखिएका दुई जनाको नमूना परीक्षणका लागि पठाइएकामा दुवै जनाको नेगेटिभ देखिएको थियो ।