मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाभाइरसको जोखिम बढेपछि नेपालमा उच्च सतर्कता, संक्रमित देशबाट आउनेलाई स्वास्थ्य प्रमाणपत्र अनिवार्य

कोरोनाभाइरसको जोखिम बढेपछि नेपालमा उच्च सतर्कता, संक्रमित देशबाट आउनेलाई स्वास्थ्य प्रमाणपत्र अनिवार्य


काठमाडौँ । गत डिसेम्बरमा चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरस अर्थात् कोभिड १९ को संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यस भाइरसले विश्वका ६७ मुलुकमा प्रभावित गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि एक महिना अगावैदेखि अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी जारी गर्दै आएको छ । 
 
विश्वका देशहरुमा कोरोनाभाइरसविरुद्ध युद्धस्तरमा नियन्त्रण र पूर्वसतर्कता अपनाउँदै गर्दा नेपाल सरकारले भने बल्ल चासो देखाएको छ । चीनमा कोरोना संक्रमणको फैलिँदै गर्दा नेपालले भने भूतले खाजा खाने बेलामा  २० लाख पर्यटक नेपाल भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्षको कार्यक्रमलाई जोड दिँदै आएको थियो । अहिले नेपाल भ्रमण वर्ष सरकारका लागि निल्नु न ओकल्नुजस्तो बन्न पुगेको छ । 
 
यद्यपि, ढिलै भए पनि सरकारको घैँटोमा घाम लागेको छ । आइतबार सरकारले कोरोनाभाइरसको संक्रमणप्रति सचेत हुँदै ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न सर्वसाधारणहरुमा आह्वान् गरेको छ । 
 
सरकारले आफ्ना नागरिकलाई बढी कोरोनाभाइरसको बढी संक्रमण भएका मुलुकमा नजान आह्वान् गरेको छ । यस्तै, कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै नेपाल आउने पर्यटकलाई दिँदै आएको अनअराइभल भिसा दिने व्यवस्था स्थगित गरेको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही फागुन २४ गतेदेखि ‘अनअराइभल भिसा’ स्थगित गर्ने निर्णय गरेको हो ।
 
संक्रमित देशबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशको दूतावासबाटै भिसा र अनिवार्यरुपमा स्वास्थ्य प्रमाणपत्र ल्याउनुपर्ने छ 
 
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत् कोरोनाभाइरसको जोखिम बढेका कारण धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आहृवान गरेका हुन् ।
 
कोरोनाको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको छ । जसअनुसार पहिलो चरणमा आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँच तथा हेल्थ डेक्सको व्यवस्था गर्ने, दोस्रो चरणमा संक्रमित नेपालीहरुलाई राख्न आवश्यक शैय्याको व्यवस्था गर्ने र तेस्रो चरणमा नेपालमा कोरोनाको संक्रमणले भयावह रुप लिए सबै अस्पतालमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । 
 
चीनमा पछिल्ला दिनमा कोरोनाभाइरसको संक्रमण घटदै गए पनि कोरिया, खाडी मुलुक तथा भारतमा कोरोनाको संक्रमण देखिए नेपालमा पनि भयावह स्थिति आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै छिमेकी देशले अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालेको छ । यस विषयमा सरकारले पनि छलफल गरिरहेको छ । 
 
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा आवश्यक स्वास्थ्यकर्मीसहित हेल्थ डेक्सको व्यवस्था गरेको छ । कोरोना संक्रमित मुलुकबाट आउने सबै यात्रुको प्रारम्भिक स्वास्थ्य परीक्षण (मेसिनबाट ज्वरो नाप्ने) गर्ने भएको छ । 
 
सीमा नाका जोडिएका क्षेत्रमा पनि स्वास्थ्य जाँचका लागि हेल्थ डेक्स सञ्चालन गर्न लागेको स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी नाकाहरूमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरिएको छ । 
 
सरकारले कोरोना रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।
 
उक्त समितिमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडा सदस्य छन् ।