काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि गम्भीर छानबिन किन सुरु नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सभापति देउवाले यस्तो प्रश्न गरेका हुन् ।
सभापति देउवाले भने, ‘बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको प्रकरण एक साता पुगिसक्दा पनि गम्भीर छानबिन नहुनु दुःखद् हो । त्यो अडियोमा हामी भनिएको छ, त्यो हामीमा को–को पर्दछ ? कसलाई भनेका हुन् ?’
उनले यो प्रकरणमा गम्भीर छानबिन नभईकन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अडियो नक्कली किन भन्नुभयो ? भन्दै कडा प्रश्न गरे । उनले भने, ‘उहाँले यसोभन्दा त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् ? तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’ उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको सम्बन्धमा जारी गरेको श्वेतपत्रले अहिलेको बाँस्कोटा प्रकरण, गोकर्ण रिसोर्टको लिज प्रकरणको ध्यान मोड्ने काम भएको पनि आरोप लगाएका छन् ।
उनले नेपाल ट्रष्टको जग्गा लिजमा दिएकोबारे श्वेपत्रमा आफ्नो नाम मुछिएकोमा पनि उनले गम्भीर आपत्ति जनाए । उनले भने, ‘मेरो प्रत्यक्ष संलग्नतामा कुनै निर्णय भएको छैन् । राजनीतिक पूर्वाग्रहवश नाम जोडिएकोमा गम्भीर आपत्ति छ ।’
त्यस्तै, उनले पेट्राृेलियम पदार्थमा मूल्य बढाएर जनतामा थप भार पारेको पनि गम्भीर आरोप लगाए । उनले भने, ‘जनतालाई दुःख नदिन अपिल गर्दछु ।’
सभापति देउवाले प्राणघातक कोरोनाभाइरस, विश्वभरि फैलिएको सुनाउँदै नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले भनिसकेकाले सरकारले सतर्कता अपनाउन ध्यान दिन ध्यानाकर्षण गराए । उनले यसको संक्रमणबाट जोगिन विशेष सतर्कताको लागि अपिलसमेत गरेका छन् ।
प्रतिक्रिया