नेपाल

पार्टी नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान

पार्टी नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न संगठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गरेका छन् । 
 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न संगठित प्रयास भएको बताए ।
 
‘आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ । कसैले करोड खाको भन्छ, कसैले घूस माग्यो भन्छ । यही आरोप सत्य हो भने ऊ सजायको भागीदार हुन्छ’, उनले भने, ‘होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ ।’ 
 
उनले कम्युनिस्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारबाही गरिने दाबी गरे ।  
 
उनले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढंगले आएको भन्दै बचावट गरे । ‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो । मैले राजीनामा स्वीकृत गरेँ’, उनले भने, ‘उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छ । म न्याय खोज्छु भन्नुभएको छ । स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यसको कुनै सत्यता पुष्टि भएको छैन । त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन । त्यो टेप प्रकरण प्रमाणित हुँदैन ।’  
 
उनले बाँस्कोटामा दोष देखिएमा त्यसको सजाय उहाँले भोग्ने बताए । उनले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको भन्दै त्यो काम नलाग्ने बताए । 
 
उनले पार्टीको सही नीति तथा व्यापक र सुदृढ संगठन भए पनि प्रचारमा मात्र कमी रहेको बताए । केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली काङ्ग्रेसले विरोध गरेको उनले बताए ।
 
‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’, उनले भने, ‘मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन् । कसले केक ल्याए, मलाई थाहा छैन । मैले केक छोइदिएको मात्र हुँ । केक उनीहरुले नै काटेका हुन् ।’
 
संसदमा जवाफ दिन्छु 
 
उनले संसदबाट आफू कहिल्यै  नभागेको बताए । उनले भने, ‘संसदमा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसदमा दुई तिहाइ ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिनँ ।’ 
 
उनले आफू कुनै समय संसद् जाने र  प्रतिपक्षको कुरा सुनेर जवाफ दिने बताए । ‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसदमा पुग्न सक्दैन’, उनले भने, ‘म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।’
 
केही दिनमा मिर्गौला प्रत्यारोपण
 
प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए । मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटौँ दिनमा घर आएर काम सुरु गर्ने उनको भनाइ थियो । उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गरे । 
 
‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घन्टा काम गरिरहेको छु’, उनले भने, ‘बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ । अलिअलि बिरामी परिहालिन्छ । जिन्दगी यस्तै हो ।’