धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्व महेन्द्रनारायण निधि लोकतन्त्रकै निधि भएको बताएका छन् ।
गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको ९८ औँ जन्मजयन्तीका अवसरमा नेपाल काँग्रेस कार्य समिति धनुषाद्वारा आयोजित समारोहमा मुख्यमन्त्री राउतले लोकतान्त्रिक आन्दोलनमा निधिले खेलेको भूमिका सधैंँ स्मरणीय रहने बताए ।
मुख्यमन्त्री राउतले स्व निधिको लोकतन्त्रप्रतिको आस्था, विचार र सिद्धान्तले उनको नामको निधिमात्र नभई लोकतन्त्रकै निधि बनाएको प्रसङ्ग उल्लेख गरे ।
उनले भने, “निधिको त्याग, विचार, समर्पणलाई हामीले आफ्नो जीवनमा उतार्न सक्यो भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौँ, सामाजिक न्याय स्थापना हुनसक्छ र उत्पीडनमा रहेका समुदायले न्याय पाउन सक्छ ।”
मुख्यमन्त्री राउतले आजको राजनीतिमा समेत स्व निधि सबैका लागि प्रेरणाको स्रोत रहेको बताउँदै मधेसको विकासका लागि उनी सधैँ चिन्तित रहेको प्रसङ्ग उल्लेख गरे ।
एक फरक प्रसंगमा मुख्यमन्त्री राउतले ‘केही नेता मञ्चपिच्छे बोली फेर्दै संघीयतालाई धराप पार्ने गरी प्रदेश नं २ को सरकारको परिवर्तनको सपनादेखि रहेका छन्, त्यस्तो सपना नदेखे हुन्छ’ भने।
जिल्ला सभापति महेश शंकर गिरीको अध्यक्षतामा भएको समारोहमा काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, पूर्वमन्त्री रामकृष्ण यादव र प्रदेशसभा सदस्य रामसरोज यादवले गान्धीवादी नेता स्व निधिको व्यक्तित्वबारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया