मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालीको उद्धार गर्न माग

दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालीको उद्धार गर्न माग


काठमाडौँ । नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।  
 
चीनबाट उत्पन्न भएको भनिएको कोभिड–१९ विश्वव्यापीरुपमा फैलिएको र पछिल्लो दिनमा कोरियामा समेत त्यसले प्रभाव पारेकाले त्यहाँका नेपालीको अवस्था के कस्तो रहेको छ भन्नेबारेमा यथार्थ जानकारी गराउन सांसदले माग गरेका हुन् । 
 
नेकपाका धर्मशिला चापागाईंले कोरियाका नेपालीलाई तत्काल उद्धारका लागि पहल गर्न माग गरिन् । उनले भाइरस फैलन नदिन सरकारका तर्फबाट तत्काल विशेष पहल गरिनुपर्नेमा पनि जोड दिइन् । 
 
सोही दलका दीपकप्रकाश भट्टले  सुदूरपश्चिम प्रदेशको सहज व्यापारका लागि मार्गप्रशस्त गर्ने गरी नाका विस्तार गर्न माग गरे । 
 
नेकपाकै नवराज सिलवालले महिला हिंसाको घटना एवं महिला तथा बालबालिकामाथि तेजाब प्रहारको घटनामा वृद्धि भएको जनाउँदै नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले  खुला रुपमा तेजाब बिक्रीवितरण भइरहेकाले तत्काल नियमन गर्नुपर्नेमा पनि जोड दिए ।
 
नेपाली काँग्रेसकी सांसद् पुष्पा भुसालले भाइरस नियन्त्रणका लागि मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा कुनै संयन्त्र स्थापना नगरिएकामा गुनासो गरिन् । 
 
उनले रोगको पहिचान र  क्वारेन्टाइन केन्द्र निर्माण गर्नेतर्फ किन तदारुकता नदेखाइएको भनी प्रश्न गरिन् । सांसद् भुसालले पछिल्ला दिनमा  कोरियामा समेत कोरोना भाइरसको सङ्क्रमण फैलिएकाले त्यहाँका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराइन् । 
सोही दलकी डिला सङ्ग्रौलाले देशका अधिकांश विश्वविद्यालयमा पदाधिकारी नहुँदा अस्तव्यस्त भएकाले तत्काल पदाधिकारी नियुक्तिका लागि सरकारसँग माग गरिन् । 
 
काँग्रेसकै दिव्यमणि राजभण्डारीले इपासपोर्ट तथा अन्तःशुल्क स्टीकर छपाइमा भइरहेको ढिलाइ र  ‘जिटुजी’का माध्यमबाट खरिद गर्न खोजिएकाले त्यसमा अनियमितताको आशंका व्यक्त गरिन् । रासस