मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री ओलीको हात छ : नेता गजुरेल

बाँस्कोटाको कमिसन प्रकरणमा प्रधानमन्त्री ओलीको हात छ : नेता गजुरेल


काठमाडौँ । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको र उनलाई राजीनामामात्रै गराउनु पर्याप्त नभएको जिकिर गरेका छन् ।
 
रिपोटर्स क्लबले गरेको साक्षात्कार कायक्रममा उनले भने, ‘यदि स्वीस कम्पनीसँग अन्तरविरोध नभएको भए, ठूलो मात्रामा भ्रष्टचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पु¥याइएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ ।’ 
 
गजुरेलले मन्त्री बाँस्कोटाको सातवटा योजनामा एक खर्ब खाने योजना रहेको कुरा पनि मिडियामा आएको सुनाए । उनले थपे, ‘अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्ने ?’  उनले वर्तमान सरकार नै भ्रष्टाचारमा लिप्त रहेको बताए ।
 
 ‘सरकारले समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको पनि उनको टिप्पणी छ । अहिले सामान्य नागरिकले आफ्ना छोराछोरी पढाउन सक्ने अवस्था नभएको र उपचार गराउन सक्ने अवस्था पनि नभएको चित्रण गर्दै गजुरेलले मुलुकको अवस्था साह्रै चिन्ताजनक रहेको सुनाए । उनले भने, ‘सरकारका मन्त्री नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि ।’
 
उनले गोकुलप्रसाद बास्कोटाको कमिसनको अडियो प्रकरणबारे गम्भीर छानबिन हुनुपर्ने बताउँदै यसको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने माग गरे । उनले भने, ‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन ।’ गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्री कहाँ पुगेको कुरा आएको सुनाउँदै किन त्यो प्रकरण बाहिर ल्याउनुभएन ? भन्दै कडा प्रश्न गरे ।
 
उनले भने, ‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ? यसले पनि के देखाउँछ भने यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ, अहिले उनले गोकुल बास्कोटा प्रकरणमा छानबिनको सवालमा अर्कै टिप्पणी गरेका छन् । अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन, अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’ 
 
उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन खोज्नुभएको त छैन ? भनेर पनि आशंका व्यक्त गरे । ‘अडियो आएपछि उहाँले किन केही गर्नुभएन ? दुई महिनासम्म के हेरेर बस्नुभयो ? उल्टै उहाँले यो अडियो लुकाउने चेष्टा गर्नुभयो, अब स्थिति धेरै नै गम्भीर छ’ उनले थपे ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ भन्ने कुरा पुष्टि भएको स्पष्ट पारे । उनले बास्कोटाको टेप प्रकरण त सानो इपिसोडमात्रै भएको टिप्पणी गरे । 
 
उनले भने, ‘यो सरकारको अरु धेरै काण्डहरु छन् । अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन् । सरकारले जनतालाई नारामात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो ।’ 
 
उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौँ काण्डमा फसेको आरोप लगाए । उनले भने, ‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ । यो प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जवाफ दिनुपर्छ ।
हामीले यो प्रकरणमा विरोध गरिरहेका छौँ । प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ । समग्र काण्डमा निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ ।’

शेयर गर्नुहोस:

0
Shares