मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा

सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसदबाट पारित हुने बताएका छन् । 
 
क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गरे ।
 
डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध नियन्त्रण गर्न सरकारले नीतिगत सुधारको प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।
 
अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने तर, डिजिटल क्षेत्रमा हुन खोजेका सुशासन पारदर्शिता र डिजिटल कारोवारका वैधतालाई बेवास्ता गर्न नमिल्ने भन्दै सञ्चारमन्त्री बाँस्कोटाले भने, “सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतासँग मात्रै जोडिएको छैन ।”
 
उनले भने, “सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो कि भन्ने लाग्छ ।” उनले प्रश्न गरे, “प्रविधिको पहुँच,  हस्तान्तर र प्रविधिको पहुँच र अभावबीचको खाडलको पूरा गर्ने भनेर ‘डिजिटल इकोनोमी’ को कुरा गर्ने तर कानूनी व्यवस्था, सुरक्षित कारोवार, सदुपयोगजस्ता विषयलाई ख्याल नगर्ने ?”
 
सञ्चारमन्त्री बाँस्कोटाले सूचना प्रविधि विधेयकमा पहिलाको विद्युतीय कारोवार ऐनका भन्दा बढी स्वतन्त्रताका विषयहरु रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताका नाममा हल्लाको पछि नलाग्न आग्रह गरे । 
 
“सामाजिक सञ्चालका केही कुरा जोडिएको छ । त्यो मिडियासँग जोडिएको विषय होइन । विधेयकमा रहेका दण्ड, सजाय बढी भएमा त्यसलाई कम गराएर पारित गर्छौ”, उनले भने ।
 
उनले डिजिटल नेपालको सङ्कल्पको व्यवहारिक कार्यान्वयनका लागि सरकारले पर्याप्त लगानी गरेको र गाउँका कुनासम्म इन्टरनेटको पहुँच विस्तारमा लागेको बताए । उनले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको सूचना प्रविधि विधेयक हाल सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । उनले संसद्को विकास समितिको बैठकले सूचना प्रविधि विधेयकको प्रतिवेदन फरकमतसहित पारित गरेको उल्लेख गरे । 
 
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सूचना प्रविधि विधेयक छिट्टै प्रतिनिधिसभामा पेश हुने जानकारी दिए । यो विधेयक विसं २०७५ फागुन ११ गते प्रतिनिधिसभामा पेश भएको थियो । उक्त विधेयक उपर सामान्य छलफल भई दफाबार छलफलका लागि समितिमा पुगेको थियो ।
 
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले राष्ट्रिय आकांक्षा प्राप्त गर्नका लागि  महत्वपूर्ण औजारको रूपमा रहेको सूचना प्रविधि क्षेत्रको विकास विस्तारमा आयोगले पहलकदमी लिने बताए । 
 
‘समृद्ध नेपाल, सुखी नेपाली’का १० राष्ट्रिय लक्ष्यमध्ये रहेकाले त्यस क्षेत्रलाई सरकारले दरिलो बनाउनुपर्ने उनको भनाइ थियो । उनले सरकारले अघि सारेको डिजिटल नेपालको कार्ययोजनालाई योजना आयोगले १५औँ योजनाको रुपान्तरणकारी योजनाको रूपमा स्वीकार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । रासस