नेपाल

क्रिकेट रंगशालामा आयोजित महायज्ञमा एकैदिन उठ्यो पाँच करोड

क्रिकेट रंगशालामा आयोजित महायज्ञमा एकैदिन उठ्यो पाँच करोड


चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजित धनधान्याचल महोत्सवमा आर्थिक सहयोग प्राप्त हुने क्रम बढ्दै गइरहेको छ । 
 
महायज्ञमा बिहीबारमात्रै ५ करोड रुपैयाँ बढी रकम संकलन भएको मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
 
महोत्सवमा जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको सुवेदीले जानकारी दिए । यस्तै, चितवनको पोल्ट्री व्यवसायीहरुको तर्फबाट नेपाल पोल्ट्री महासंघका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले एक करोड सहयोगको घोषणा गरे ।
 
विष्टले महायज्ञस्थलमा ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै उपलब्ध गराउने बताएका छन् ।
 
यस्तै, चितवनका उद्योग संघले ५१ लाख ७७ हजार २२२ रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष राजु पौडेलले उक्त सहयोग रकम महोत्सवमा हस्तान्तरण गरे । संघले यसअघि पनि १२ लाख रुपैयाँ सहयोग गरेको थियो । 
 
उता चितवनको माडी नगरपालिकाले महोत्सवमार्फत् ३० लाख रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गरेको मूल आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।
 
यस्तै, बिहीबार विभिन्न संघसंस्था, आमा समूह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।