मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सभापति देउवाद्वारा कोरोना सङ्क्रमणबाट सतर्कताका लागि अपिल

सभापति देउवाद्वारा कोरोना सङ्क्रमणबाट सतर्कताका लागि अपिल


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गरेका छन् । 
 
उनले आज वक्तव्यमार्फत कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति काँग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गरेका छन् । 
 
चीनको वुहान सहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कैयौँको मृत्यु भइसकेको छ भने यसबाट हजारौँ सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय रुपमा कोरोना सङ्क्रमण फैलिन सुरु भएको स्थितिमा विश्व स्वास्थ्य सङ्गठनद्वारा घोषित सङ्कटकाल र सङ्क्रमण सामना गर्न अन्य राष्ट्रले सुरु गरेको सम्पूर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै सभापति देउवाले सार्वजनिक अपिल गरेका हुन् । 
 
सभापति देउवाले कोरोना भाइरस सङ्क्रमणको जोखिम र पूर्वसतर्कताबारे नेपाल सरकारले विविध माध्यमबाट नागरिक पङ्क्तिमा व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको उल्लेख गरेका छन् । 
 
उनले नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न काँग्रेसका नेता तथा कार्यकर्तासँगै सबै राजनीतिक दल, सङ्घसंस्था र सञ्चारमाध्यमहरुलाई विशेष आग्रह गरेका छन् । 
 
‘नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष ‘हेल्थ डेस्क’ प्रभावकारी ढङ्गले सञ्चालन गर्न अपिल गर्दछु, ताकि कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस् । कैयौँ देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् तर त्यहाँ रहेका करिब १०० नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ । 
 
कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु’, सभापतिको विज्ञप्तिमा उल्लेख छ ।
 
उनले वुहानबाट नेपालीलाई उद्धार गरेर ल्याएपश्चात् स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रबन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 
 
सङ्क्रमण परीक्षणका लागि तत्काल राजधानीमा अलग्गै केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सभापति देउवाले यसलाई गम्भीरतापूर्वक सोहीअनुसार कार्य गर्न सरकारलाई सचेत गराएका छन् । 
 
उनले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा विशेष अपिल पनि गरेका छन् । 

शेयर गर्नुहोस:

0
Shares