मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख

संसद्को प्रतिष्ठा उच्च बनाउन भगिरथ प्रयत्न गर्नेछु : सभामुख


काठमाडौँ । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्को प्रतिष्ठा उच्च बनाई राख्न आफ्नो भगिरथ प्रयत्न रहने स्पष्ट पारेका छन् । 
 
प्रतिनिधिसभाको आजको बैठकमा आफू सभामुख पदमा निर्वाचित भएकामा बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण सांसदप्रति आभार प्रकट गर्दै उनले सदनलाई सफलताका साथ सञ्चालन गर्न हरसम्भव प्रयासरत रहने उल्लेख गरे । 
 
उनले सदनको कामकारवाही अगाडि बढाउन सबै राजनीतिक दल र सांसद सदस्यबाट सदैव सकारात्मक सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरे । यसैगरी प्रतिनिधिसभाको आजको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामसमेत मनोनयन गरेको छ । 
 
बैठकमा सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्नुभएको थियो भने सो प्रस्तावलार्ई बैठकको सर्वसम्मतिले अनुमोदन गरेको छ । 
 
अध्यक्षता गर्ने सदस्यहरुमा उमाशङ्कर अरर्गरिया, चन्द्रकान्ता चौधरी, डा डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा र सोमप्रसाद पाण्डे रहेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १७ गते बिहान ११ बजे बस्नेछ ।
 
अन्तरिम आदेश दिन अस्वीकार
 
यसैबीच, सर्वोच्च अदालतले नेकपाका नेता अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 
 
न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा सोमबारदेखि शुरुभएको बहसपछि अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । 
 
आदेशमा भनिएको छ, “अग्निप्रसाद सापकोटाले सभामुख पदमा निर्वाचित भई शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा निजलाई सभामुखको पदमा कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन ।” 
 
अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेका सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । 
 
न्यायाधीश हरिप्रसाद  फुँयालको एकल इजलासमा आइतबार पेशी तोकिएको थियो तर सापकोटा विरुद्धको अर्को मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीश नहुँदै बहस गरेको हुनाले हेर्न नमिल्ने सूचीमा राखिएको थियो । सोमबार बहस सुरु भई हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो ।  

शेयर गर्नुहोस:

0
Shares