मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरीका पार्कीलाई

राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरीका पार्कीलाई


चितवन । रोटरी क्लब अफ रत्ननगरले आज आयोजना गरेको राष्ट्रिय मिनी म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपालचन्द्र पार्कीले हात पारेका छन् । प्रतियोगितामा उनले निर्धारित १५ दशमलब चार किलोमिटर दूरी ४२ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए ।

यस्तै दोस्रो स्थानमा भरतीय सेनामा कार्यरत अनिष थापामगर र तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी रहेका छन् ।

Advertisement

उनीहरूले क्रमशः ४२ मिनेट ४१ सेकेन्ड र ४४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरे । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रियस्तरको रोटरी मिनी म्याराथन प्रतियोगिता गरिएको हो ।

क्लबका अध्यक्ष बिपिन पोख्रेलका अनुसार राप्ती नगरपालिकाको भण्डारादेखि सुरु भएको म्याराथोन रत्ननगरको स्टार व्यङ्क्युट होटलमा आएर सम्पन्न भएको थियो ।

प्रतियोगितामा विभागीय धावक नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा चेपाङ धावक र विदेशीसहित ३५२ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार नगदसहित चाँदीको मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, प्रतियोगितामा दश नम्बरसम्म आउने धावकलाई रु एक हजार नगदले सम्मान गरिएको छ । त्यसैगरी प्रतियोगिता पूरा गर्ने ४४ महिला धावकलाई नगद रु पाँच हजारले सम्मान गरिएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।

प्रतियोगिताको रोटरी ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र मिस नेपाल अर्थ रिया बस्नेतले संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा गरिएको यस कार्यक्रमले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा भ्रमण वर्षको सन्देश प्रवाह गरेको क्लबका अध्यक्ष पोख्रेलले बताए । क्लबका सदस्य र दाताको सहयोगमा कार्यक्रम गरिएको हो । 

शेयर गर्नुहोस:

0
Shares