चितवन । चितवनमा बहुचर्चित पुडासैनी आत्महत्या प्रकरणमा न्यूज २४ टिभीका प्रस्तोता रवि लामिछाने, सोही टिभीमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले चितवन जिल्ला अदालतबाट निर्दोष ठहर भएका छन् ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले तीनै आरोपितलाई सफाइ दिएको हो ।
चितवन जिल्ला सरकारी वकिलको कार्यालयले भदौ ८ गते चितवन अदालतमा मुद्र्दा दर्ता गरेकोमा चितवन अदालतले गत भदौ ९ गते तीनजना आरोपितमध्ये रविलाई ५ लाख, युवराजलाई ३ लाख र अस्मितालाई शुद्ध तारेखमा रिहा गर्न आदेश दिएको थियो ।
रवि र कँडेलले तोकिएको धरौती बुझाएर रिहा भएका थिए भने अस्मिता शुद्ध तारेखमा रिहा भएकी थिइन् ।
शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आत्महत्यामा दुरूत्साहन गरेको कसुर प्रमाणित भए नयाँ मुलुकी अपराध संहिताअनुसार निजलाई पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था थियो ।
सोही व्यवस्थाअनुसार उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।
चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुको कोठा नं १०२ मा शंकास्पद अवस्थामा झुण्डिएको अवस्थामा फेला परेका नुवाकोट बेलकोटगढी ३ निवासी शालिकराम पुडासैनीको साउन २२ गते पोस्ट मार्टम गरिएको थियो ।
जसमा आत्महत्या पुष्टि भएको थियो । मृतकका आफन्तले होटल सञ्चालक यज्ञबहादुर कार्कीविरुद्ध किटानी जाहेरी दिए पनि चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले उनलाई सामान्य सोधपुछ गरेरमात्रै छाडेका थिए ।
मृतकको मोबाइलमा भेटिएको भिडियो फुटेजका आधारमा रवि, युवराज र अस्मिताको संलग्नता रहेको भन्दै एक अनलाइनमार्फत भिडियो बाहिरिएपछि विविध खालका शंका उपशंका व्यक्त भएका थिए ।
रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि चितवनमा रविका समर्थकहरुको प्रदर्शनका कारण आन्दोलनकै रुप लिएको थियो । रविको समर्थनमा हजारौँ जनसाधारण शान्तिपूर्ण प्रदर्शमा उत्रिएका थिए ।
प्रतिक्रिया