नेपाल

उपचारमा कुनै कसर बाँकी नराख्न प्रहरी महानिरीक्षकको अनुरोध

उपचारमा कुनै कसर बाँकी नराख्न प्रहरी महानिरीक्षकको अनुरोध


चितवन । माघे सङ्क्रान्ति मेलामा सुरक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज अस्पतालमा पुगेर भेट गरेका छन् ।
 
खनालले चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेका हुन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा १४ जना घाइते प्रहरी उपचाररत रहेका छन् । 
 
उनीहरुको अवस्थाको बारेमा प्रत्यक्ष भेट गरी खनालले जानकारी लिनुभएको हो । सो क्रममा उहाँले उपचारमा संलग्न चिकित्सकसँग पनि भेट गरेका हुन् । 
 
उनले उपचारमा कुनै कसर बाँकी नराखी काम गर्न अस्पतालका चिकित्सकलाई अनुरोध गरेको कोइरालाले जानकारी दिए ।  
 
कोइरालाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जना उपचारपछि घर फर्किएका छन् । 
 
पवित्र तीर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कंदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दासढुङ्गाको तनहुँतर्फ दुर्घटनामा परेको थियो । 
 
सो गाडी जिल्ला प्रहरी कार्यालय तनहुँतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो ।