मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुईतिहाइ बढी मतले प्रदेश नं ३ को राजधानी हेटौँडा स्वीकृत

दुईतिहाइ बढी मतले प्रदेश नं ३ को राजधानी हेटौँडा स्वीकृत


हेटौँडा । प्रदेश नं ३ को आइतबार बिहान बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले ३ नं प्रदेशको स्थायी राजधानी हेटौँडालाई गरेको प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट स्वीकृत भएको  छ । 
 
सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका छन् । 
 
यसैगरी सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरेका थिए भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले बताए । 
 
प्रदेश नं ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस एकमत भई संसदीय दलको अलगअलग बैठकले राजधानी हेटौँडा र नाम बाग्मतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीपसमेत जारी गरेका थिए । 
 
नेकपा प्रदेश नं ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन नै दिएका थिए । यस्तै, काँग्रेस प्रदेश नं ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि आफ्नो पार्टीले हेटौँडा र बाग्मतीका पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए । 
 
लामो समयदेखिको रस्साकस्सीपछि हेटौँडाले राजधानी पाएको छ । प्रदेशसभा गठन भएको झण्डै दुई वर्षपछि हेटौँडाले स्थायी राजधानी पाएको हो ।