मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पक्राउ १२२ चिनियाँ नागरिक चार वर्ष नेपाल आउन नपाउने गरी निष्कासन

पक्राउ १२२ चिनियाँ नागरिक चार वर्ष नेपाल आउन नपाउने गरी निष्कासन


काठमाडौँ । पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई चार वर्ष नेपालमा प्रवेश गर्न नपाउने गरी आज निष्कासन गरिएको छ ।
 
अध्यागमन विभागका अध्यागमन अधिकृत पवन गुप्ताले उनीहरुलाई आज साँझ ६ र ७ बजेको चिनियाँ विमानमार्फत फिर्ता पठाइएको जानकारी दिए । एउटा विमानमा ४२ र अर्कोमा ८० जना राखेर विमान चीन उडेको छ । 
 
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले नेपाल बसेर चीनमा अवैध गतिविधि सञ्चालन गरेका थिए ।
 
पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रजिअ जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो । 
 
त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो ।
 
सो जरिवाना चिनियाँ दूतावासले तिरिदिएको छ । विभागका अर्का अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले उनीहरुलाई चार वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी फिर्ता पठाइएको जानकारी दिए । 
 
अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको उनले बताए । 
 
ऐनमा कसुरको प्रकृतिअनुसार रु ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । 
 
विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ । नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ । 

शेयर गर्नुहोस:

0
Shares