काठमाडौँ । न्याय परिषद् सदस्यका लागि सिफारिस भएका लक्ष्मीबहादुर निरालाले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र आचारसंहिता बनाउने ठाउँ न्याय परिषदमा बसेर सके राम्रो नसके गन्हाउने भएर नबस्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइमा क्रममा निरालाले जीवनको उत्तर्राद्धमा राम्रो काम गरेर देखाउने अवसरका रुपमा आफूले परिषद् सदस्यलाई लिएको सुनाउँदै भने, “राम्रो काम गरेर केही जस पाऊँ भन्ने लोभ सबैलाई हुन्छ, ममाथि प्रश्न उठ्ने अवस्था आएमा परिषदबाट बाहिरिन्छु, म गन्हाएर निस्किने छैन ।”
निरालाले जीवनले सन्न्यास लिने बेलामा परिषदमा गएर सक्दो राम्रो गर्ने प्रयास गर्ने र संविधान र कानूनको दायराभित्र रहेर काम गर्ने प्रतिबद्धत्ता व्यक्त गरे ।
सरकारले न्याय परिषद् सदस्यमा निरालालाई सिफारिस गरेको थियो । समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले यही पुस ३ गते परिषदमा सरकारका प्रतिनिधिका रुपमा रहने सदस्यका लागि निरालालाई सिफारिस गरेको थियो ।
शाही शासनकालमा महान्यायाधिवक्ताको भूमिका निर्वाह गरेका निरालाले २०६२/६३ को जनआन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको रायमाझी आयोगले अरूलाई सबैलाई दोषी ठहर गरेको तर आफूलाई निर्दोष साबित गरेको जिकिर गर्दै भने, “शाहीकालमा पनि एक इञ्च दायाँबायाँ नगरी काम गरेको हुनाले मलाई रायमाझी आयोगले निर्दोष साबित ग¥यो ।”
समितिका सदस्य देवप्रसाद गुरुङले न्याय क्षेत्रमा निकै भ्रष्टाचार र अनियमितताका कुरा सुनिँदै आएको र तत्कालीन शाहीकालमा महान्यायाधिवक्ताको भूमिकामा रहेका उनले आगामी दिनमा कसरी काम गर्नुहुन्छ ? भन्ने जिज्ञासामा निरालाले आफूले त्यस समयमा पनि राम्रो काम गरेको जिकिर गरे ।
समितिका अर्का सदस्य पूर्णकुमारी सुवेदीले न्यायपालिका अझै सरल र सहज हुन नसकेको हुँदा झन्झटिलो, खर्चिलो र ढिला न्याय पाउने बारम्बारका गुनासालाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्न राखेकी थिइन् ।
“संविधान र कानूनको अन्तिम व्याख्या गर्ने न्यायालय समावेशी हुन सकेको छैन”, समितिका सदस्य अमृता थापा मगरले निरालालाई सोधिन्, “न्यायालयप्रति किन निष्ठा र आकर्षण हराउँदै गयो ? संविधानको व्याख्या गर्ने न्यायालयले किन समावेशिताको कुरालाई ध्यान दिँदैन ?”
समितिका सदस्य पुष्पा भुसालले लोकतन्त्रको संरक्षण र संविधानको व्याख्या गर्ने न्यायालयप्रति धेरै गुनासो आउने गरेको हुँदा २०२२ सालदेखि वकालतको क्षेत्रमा काम गरेका व्यक्तित्वले न्यायालयको सुधार गर्नेमा आशावादी रहेको सुनाइन् ।
समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जीवनको उत्तर्राद्धमा राम्रो काम गर्नेछन् भन्ने विश्वास लिएको र न्यायालयको मूल्यमान्यतालाई उचाइमा पु¥याउनेमा आशावादी रहेको धारणा राखे ।
समितिका सबै सदस्यले निरालाविरुद्ध उजुरी नपर्नुलाई सकारात्मक रुपमा लिएको र अनुभवी भएको हुनाले राम्रो काम गर्ने आशा रहेको सुनाए ।
समितिका सभापति लक्ष्मणलाल कर्णले क्षमता र अनभवका आधारमा योग्य देखिएको हुँदा निरालाको नाम सर्वसम्मतले अनुमोदन भएको सार्वजनिक गरे ।
सुनुवाइका क्रममा उनले संविधानको कार्यान्वयन गर्ने प्रधानन्यायाधीश आफैँ बसेको ठाउँमा परिषद्लाई समावेशी बनाउने कुरामा किन ध्यान जान नसकेको भनी जिज्ञासा राख्दै निरालाको कार्यकालमा संविधानको कार्यान्वयनमा हुनेमा आफूले विश्वास लिएको बताएका थिए ।








प्रतिक्रिया