चितवन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको हात्ती सफारीले मानव र वन्यवन्तुबीचको सम्बन्धलाई अझै बलियो बनाएको जिकिर गरेका छन् ।
चितवनको पर्यटकीय नगरी सौराहामा १६औँ चितवन हात्ती महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले हात्ती सफारीको विरोध गर्नुको औचित्य नभएको बताएका हुन् । पशु अधिकारको विषयलाई लिएर चितवनको हात्ती सफारीको विषयमा विरोध भइरहेका बेला सत्तापक्ष दल नेकपाका अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आएको हो ।
जनावर र मान्छेबीचको पौराणिक कालदेखिको सम्बन्धमा दरार पैदा गर्ने तरिकाले विषयहरु आइरहेको भन्दै प्रचण्डले हात्ती सफारी पर्यटन विकासको मूल आधार भएको बताए ।
परापूर्वकालमा भगवानले समेत हात्तीलाई प्रयोग गरेको कुरा ग्रन्थहरुमा पढ्न पाइने भन्दै उनले मानव र वन्यजन्तुको सम्बन्धलाई कम आँकलन गर्न नसकिने बताए ।
‘धार्मिक युद्धमा समेत हात्तीको प्रयोग भएको पाइन्छ’, प्रचण्डले भने, ‘त्यतिबेला कसैले अधिकारका कुरा उठाएनन्, यो विकसित युगमा अधिकारका कुरा किन गरिँदै छ ?’ सफारी गराउँदैमा पशु अधिकार नखोसिने भन्दै उनले सफारीले पर्यटन विकास गर्दै मुलुकको आर्थिक विकासमा सहयोग पु¥याएको बताए । ‘मानिस र जनावरको सम्बन्ध इतिहास र प्रकृतिसँग सम्बद्ध छ’, प्रचण्डले भने, ‘यसलाई तोडेर प्रकृतिको नियमविपरीत जान मिल्दैन ।’
नेकपा अध्यक्ष प्रचण्डले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० पर्यटन विकासका लागि एउटा मह¤वपूर्ण अवसर भएको बताए । भ्रमण वर्षले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक विकास गर्ने सरकारी योजनालाई सघाउने उनको भनाइ थियो ।
उनले नेपाल विकासको गतिमा अघि बढिसकेको भन्दै ‘हामी अवसरको संघारमा छौँ, यस्तो अवसर सधैँ आउँदैन, यसलाई गुम्न दिन हुँदैन’ भने । प्रचण्डले भ्रमण वर्ष पर्यटन क्षेत्रको विकाससँगै आफ्नो गाउँठाउँलाई चिनाउने र विकास गर्ने अवसर पनि भएको बताउँदै नेपाल समृद्धिको दिशामा अघि बढेको कुरालाई अन्तर्राष्ट्रिय जगत्ले समेत स्वीकार गरिसकेकोमा जोड दिए । उनले विकास र समृद्धिको यात्रामा सरकारलाई साथ दिन सबैलाई आग्रह पनि गरे ।
सकारात्मक सोच, रचनात्मक पहलकदमीले मात्रै मुलुकमा विकास हुने भन्दै प्रचण्डले यसका लागि नागरिकस्तरबाट पनि योगदान गर्नुपर्ने बताए । ‘विरोध गरेरमात्रै विकासको आकाङ्क्षा पूरा हुन सक्दैन’, उनले भने, ‘विरोधलाई छाडेर सरकारलाई सहयोग गर्नुपर्ने बेला आएको छ ।’
प्रचण्डले अबको एक दशकलाई विकासको दशकका रुपमा लिएर त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘हामीले सबै गर्न सक्यौँ तर विकास गर्न सकेनौँ’, उनले भने, ‘अब विकासका लागि सबैले एकपटक संघर्ष गरौँ ।’ अध्यक्ष प्रचण्डले निकुञ्ज ऐन–२०२९ संशोधनको प्रक्रियामा रहेको बताए । ‘पुरानो ऐनले वन, वन्यजन्तु तथा मानिस र जनावरको सम्बन्ध जोगाउन सकेन’, उनले भने, ‘आगामी वर्ष संशोधनसहितको नयाँ निकुञ्ज ऐन आउने छ ।’
यस्तै, पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले हात्ती सफारीको विरोध गरेर नेपालको पर्यटन क्षेत्रलाई धराशायी बनाउने चलखेल सुरू भएको बताए ।
उनले हात्ती सफारीको विरोध गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुलाई निरूत्साहित हुने गरी नेपालका मिडिया, राजनीतिक दल र नागरिक समाजले भूमिका खेल्नुपर्ने बताए । क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईको अध्यक्षतामा भएको थियो ।








प्रतिक्रिया