काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको चौंथो बैठकअन्तर्गत बिहीबार पाँचौँ दिनमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न बैठकमा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावहरुमाथि स्थायी कमिटीका सदस्यहरुले धारणा राखेका थिए ।
प्रतिवेदनहरु परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावहरु राख्ने क्रममा आज १० जनाले सुझाव राखेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बिहीबार बोल्नेहरुमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ तथा स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, चक्रपाणि खनाल, सुवास नेम्वाङ, विष्णु रिमाल र भीम आचार्य रहेका थिए ।
अब पार्टी महासचिव विष्णुप्रसाद पौडेलले मात्रै प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि धारणा राख्न बाँकी रहेको छ ।
राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई कमीकमजोरी मुक्त गर्दै व्यवस्थित गर्ने, संगठनलाई एकताबद्ध र सुदृढीकरण गर्ने, विचार, आचरण र व्यवहारमा सुधार गर्नेजस्ता विषयमा आ–आफ्नो कोणबाट वक्ताहरुले विचार, धारणा र आलोचना राखेको सो पार्टीको विज्ञप्तिमा जनाइएको छ ।
स्थायी समितिको अर्को बैठक यही पुस ५ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौँमा बस्नेछ । प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि प्रस्तुत धारणा, सुझाव र दृष्टिकोणलाई मध्यनजर गरी पार्टी अध्यक्षद्वयले परामर्श गरी निर्णयको तयारीका निम्ति शुक्रबार एक दिन बैठक स्थगित गरिएको जनाइएको छ ।








प्रतिक्रिया