नेपाल

एक्लो प्रयासले न्यायपालिकाको सुधार सम्भव छैन : प्रधानन्यायाधीश जबरा

एक्लो प्रयासले न्यायपालिकाको सुधार सम्भव छैन : प्रधानन्यायाधीश जबरा


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् । 
 
न्याय परिषद्को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने भन्दै सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताए । 
 
प्रधानन्यायाधीश राणाले भने, “न्यायालयमा सुधारको जरुरी छ, न्याय परिषद्का पनि न्यायाधीश नियुक्तिका विषयमा आलोचना हुने गरेको छ, कमीकमजोरी पक्कै भएको छ, आत्मसमीक्षा गरेर आगामी दिनमा सुधार गर्दै लैजानुपर्छ ।” 
 
उनले संविधान र कानुनले व्यवस्था गरेअनुसार नै न्यायाधीश नियुक्ति गरेकोसमेत स्पष्ट पारे । देशभरका न्यायाधीशले आ–आफ्नो क्षेत्रबाट सक्रियरूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले काम गरिरहेको र न्यायप्रतिको जनआस्था वृद्धिका लागि न्यायालयले निरन्तर काम गरिहेको प्रधानन्यायाधीश राणाको भनाइ थियो ।
 
कार्यक्रममा उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले जनताको मनोभावना विचार गरी न्याय परिषद्ले काम गर्नुपर्ने विचार व्यक्त गरे । 
 
यस्तै, महान्यायाधिवक्ता अग्नि खरेलले परिषद्ले निष्पक्षरूपमा जिम्मेवार भएर न्यायाधीश नियुक्तिलगायतका काम गर्नुपर्ने सुझाव दिए । 
 
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले परिषद्को काम कारबाही जिम्मेवार र इमान्दार तरिकाले गरी न्यायालयप्रतिको जनआस्था वृद्धि गर्न बारले सदैव सहयोग गर्ने बताए ।
 
सो अवसरमा उत्कृष्ट दुई न्यायाधीशलाई सम्मान गरिएको छ । उच्च अदालत जनकपुर इजलासका न्यायाधीश महेशप्रसाद पुडासैनी र पर्सा जिल्ला अदालतका न्यायाधीश प्रकाश खरेललाई प्रधानन्यायाधीश राणाले सम्मान गरे । सो अवसरमा परिषद्ले तयार गरेको न्याय परिषद् बुलेटिनसमेत प्रधानन्यायाधीश राणाले सार्वजनिक गरे । 
 
परिषद्को स्थापना दिवस प्रत्येक वर्ष पुस ३ गते मनाउने गरिन्छ । परिषद्ले न्यायाधीश नियुक्ति, सरुवा तथा अनुशासनात्मक कारबाही, बर्खास्ती र न्याय प्रशासनसम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिने काम गर्दछ ।