मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उपत्यका बाहेकका १० जिल्लामा एक महिनामा ५८ जनाको मृत्यु

उपत्यका बाहेकका १० जिल्लामा एक महिनामा ५८ जनाको मृत्यु


हेटौँडा । प्रदेश नं ३ को उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा गत मंसिरमा मात्रै विभिन्न दुर्घटनामा परी ५८ जना व्यक्तिको मृत्यु भएको छ भने ८० गम्भीरसहित २१७ जना घाइते भएका छन् । 
 
प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा मङ्सिर महिनाभरि ८५ वटा दुर्घटना भयो जसमा १२२ वटा सवारी साधन संलग्न भए । प्रहरीका अनुसार गत महिना ४४ वटा मोटरसाइकल दुर्घटना भयो भने २४ वटा साना गाडी दुर्घटनामा संलग्न भए । 
 
त्यस्तै २५ वटा ट्रक, ट्रयाक्टर, टिपर दुर्घटनामा परे भने १३ वटा यात्रुबाहक बस पनि दुर्घटनामा परे । प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण क्षेत्रीका अनुसार मङ्सिरमा चितवनमा सबैभन्दा धेरै दुर्घटना हुनपुग्यो । चितवनमा भएका ५६ वटा दुर्घटनामा ५ जना महिलासहित १९ जनाले ज्यान गुमाएका छन् भने २० जना गम्भीरसहित ५६ जना घाइते भएका छन् । 
 
त्यस्तै दुर्घटनामा ज्यान गुमाउने सङ्ख्याका आधारमा सिन्धुपाल्चोक दोस्रो हो । महिनाभर जिल्लामा जम्मा दुई वटा मात्र दुर्घटना भएको भए पनि भयानक यात्रुबस दुर्घटनामा १५ जना मानिसको मृत्यु भएको र अर्को एक दुर्घटनामा थप एक जनाको मृत्यु भएको थियो । 
 
यसरी गत महिना सिन्धुपाल्चोकमा १० महिला तीन पुरुष, दुई बालिका र एक बालकसहित १६ जनाको मृत्यु भयो भने नौ गम्भीरसहित १९ जना घाइते भए । त्यस्तै काभ्रेमा गत महिना २२ वटा दुर्घटना भएको प्रहरीको अभिलेखमा छ । काभ्रेमा गत महिना एक जना महिलासहित छ जनाको मृत्यु भयो भने गम्भीर १४ सहित २४ जना घाइते भए । 
 
त्यस्तै दुर्घटना सङ्ख्याका हिसाबले तेस्रो र मानवीय क्षतिका हिसाबले चौथो जिल्ला प्रदेश राजधानीसमेत रहेको मकवानपुर हो । यहाँ गत महिना विभिन्न १६ वटा दुर्घटना भए उक्त दुर्घटनामा दुई महिलासहित पाँच जनाको ज्यान गयो भने आठ गम्भीरसहित १४ जना घाइते भए । गत महिना रामेछाप र दोलखामा भएका दुर्घटनामा तीन÷तीन जनाको मृत्यु भएको छ भने सिन्धुली र धादिङमा दुई÷दुई जनाको मृत्यु भएको छ । 
 
प्रदेशका रसुवा र नुवाकोटमा एक÷एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त एक महिनामा भएका दुर्घटनामा मात्र ६५ वटा सवारी साधन क्षति हुँदा एक करोड चार लाख १५ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । अधिकांश दुर्घटना चालकको लापरवाही र तीव्रगतिका कारण भएको प्रहरीले जनाएको छ । 
 
गत महिना भएको ८५ वटा दुर्घटनामध्ये ४१ वटामा चालकको लापरवाही र ३० वटा तीव्रगतिका कारण र बाँकी अन्य कारण दुर्घटना भएको प्रहरीको रेकर्ड छ । प्रदेश ३ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख जीतेन्द्रकुमार बस्नेत दुर्घटना बढ्नुको थुप्रै कारण रहेको बताउँछन् । प्रहरीलाई आवश्यकपर्ने प्राविधिक उपकरणको कमी, सीमित अधिकारजस्ता कारण पनि प्रहरीलाई समस्या भइरहेको उनको भनाइ छ ।
 
त्यस्तै प्रदेश नं ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पुरानो गाडी नियन्त्रण गरेर तथा सिट क्षमताभन्दा बढी यात्रु बोक्न नदिएर दुर्घटनालाई कम गर्न प्रहरी लागिपरिरहेको बताउँछन् । जिपिएस प्रविधि जडान गरेर सवारी साधनलाई निगरानी गर्नसक्ने हो भने पनि दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । 
 
सवारी दुर्घटना अत्यधिक बढेको भन्दै प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलले दुर्घटना न्यूनीकरणका लागि अधिकतम प्रयास गर्न निर्देशन दिएका छन् । सरोकारवाला, सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल गर्दै उहाँले सवारी दुर्घटना न्यूनीकरण गर्न सबै निकायको प्रयास हुनुपर्नेमा जोड दिएका हुन् । 
 
मुख्यमन्त्री पौडेल दुर्घटना नियन्त्रण गरी धनजनको क्षति रोक्न अपनाउन सकिने उपायको खोजी गरिरहेको बताउँछन् । बिहान उठेदेखि मानिस मरेको र घाइते भएको कहालीलाग्दो समाचारले धेरै नै पीडा दिएको बताउँदै उनले यस्तो अवस्थालाई सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताए । 
 
दुर्घटना घटाउन मुख्यमन्त्रीको पहल र सक्रियतामा विशेष कार्यदल गठन गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । 
 
उनका अनुसार प्रदेश सरकारले सवारी दुर्घटना न्यूनीकरण र व्यवस्थापन चुस्त बनाउन पाँच सदस्यीय कार्यदल गठन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका यातायात व्यवस्था निर्देशक सहदेव भण्डारीको संयोजकत्वमा हेटौँडा उपमहानगर, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि रहने गरी कार्यदल निर्माण गरिएको छ । कार्यदललाई सात दिनभित्र प्रतिवेदन तयार गर्न मुख्यमन्त्री पौडेलले निर्देशनसमेत दिएको उनको भनाइ छ । 

शेयर गर्नुहोस:

0
Shares