मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन


काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा आज साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । 
 
प्रवासी समन्वय समिति (पिएनसिसी)को अगुवाइमा मङ्गलबारसम्म वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका सात हजार ८२२ नेपाली आप्रवासी कामदारको सम्झनामा दीप प्रज्वलन गरिएको हो । पछिल्ला वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । 
 
वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि २०७५/७६ सम्म  सात हजार ४५५ नेपाली कामदारले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । सो अवधिमा १७१ महिला र सात हजार २८४ पुरुषले ज्यान गुमाएका छन् । 
 
बोर्डका अनुसार आव २०६५/६६ मा ७७, आव २०६६/६७ मा ४१९, आव २०६७/६८ मा ५६५, आव २०६८/६९ मा ६४६ र आव २०६९/७० मा ७२३ ले विभिन्न कारणबाट ज्यान गुमाएका छन् । आव २०७०/७१ मा ८७६, आव २०७१/७२ मा एक हजार सात, आव २०७२/७३ मा ८१३, आव २०७३/७४ मा ७५५, आव २०७४/७५ मा ८२२ र २०७५/७६ मा ७५३ नेपालीले विभिन्न देशमा ज्यान गुमाएका छन् । 
 
यस्तै चालु आवको पहिलो चार महिनामा २५१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइसकेको छ । सामान्य जानकारी नहुँदा नेपाली आप्रवासी कामदारले अनाहकमा ज्यान गुमाउन बाध्य भएका छन् । मुख्यरूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ । सो अवधिमा स्वास्थ्यसम्बन्धी समस्याका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । 
 
दश वर्षको अवधिमा कार्डियाक एरेष्टबाट एक हजार ३०९, प्राकृतिक मृत्युबाट एक हजार ६१७, हृदयाघातबाट ६०३, कार्यस्थलमा दुर्घटनाबाट ६४४, आत्महत्याबाट ८९२ र सडक दुर्घटनाबाट एक हजार ३७ जनाको ज्यान गएको बोर्डले जनाएको छ ।
 
केही मृत्युका कारण भने अझैसम्म खुल्न सकेका छैन । विसं २०६५ देखि २०७२ सम्मको अवधिमा मृत्यु भएका ७५९ कामदारको मृत्युको कारण खुल्न नसकेको ‘वैदेशिक रोजगारका लागि श्रम आप्रवासन, नेपालको स्थिति’ प्रतिवेदनमा उल्लेख छ ।

शेयर गर्नुहोस:

0
Shares