काठमाडौँ । गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा शुक्रबार राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कुनै हालतमा कारबाही गरेरै छाड्ने दाबी गरेका छन् ।
विस्फोटको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनँले सामाजिक सञ्जालमार्फत् उक्त घटनाले आफू स्तब्ध भएको जनाएका हुन् ।
उनले भनेका छन्, “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याएरै छाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।”
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमीरकुमार दाहाल, स्थानीय राजेश्वर साह र आनन्द साहको मृत्यु हुनुका साथै तीन स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको उनले बताएका छन् । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गृहमन्त्री थापाले गरेका छन् ।
स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियोे । सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमीरकुमार दाहालको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका जनाइएको छ ।
शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा राजेशकी श्रीमती शौचका लागि उठेका बेला केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा एक्कासि विस्फोट भएको थियो ।








प्रतिक्रिया