पोखरा । देशभर चासो र चर्चामा रहेको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् ।
उनी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतअन्तरले विजयी बनेकी हुन् । उनले २४ हजार ३९४ मत ल्याउँदा पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् । यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९२२ मत ल्याए भने साझा पार्टीकी रजनी केसीले ९४२ मत प्राप्त गरेकी छन् ।
मतगणना सकिएलगत्तै भारी मतले विजयी भएकी भट्टराईलाई कांग्रेस उमेदवार पौडेलले बधाई दिएका छन् । खादा र माला लगाएर पौडेलले सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।
विजयी उमेदवार भट्टराईले मतदाताहरुलाई धन्यवाद दिँदै पर्यटन र पूर्वाधार विकाससँगै पोखराको विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
कास्की २ मा कुल ७१ हजार ८७१ मतदातामध्ये ६३.४० प्रतिशत मत खसेको थियो । जम्मा ४५ हजार ५६३ जना मतदानमा सहभागी भएका थिए । जसमा २४ हजार ७७९ महिला र २० हजार ७८४ पुरुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कास्की २ मा यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । मन्त्री अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उनकै श्रीमती विद्या भट्टराई अधिकारीलाई उमेदवार बनाइएको हो ।
कास्की २ मा सर्वत्र चासो रहे पनि विद्याको उमेदवारीसँगै जित सुनिश्चितजस्तो बनेको थियो । सो स्थानमा भएको उपनिर्वाचनमा २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया